धादिङमा नेतृत्व लिन दौडधुपमा महिला जनप्रतिनिधिहरु

विदुर खबर २०७८ चैत २२ गते ७:४८

नुवाकोट ।  सीता ढुंगाना गजुरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट उपाध्यक्षमा विजयी भएकी ढुंगाना अहिले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीको प्रचारमा छिन् ।

Advertisement

अबको निर्वाचनमा पालिका प्रमुखको आकांक्षी देखिएकी छन् । उनी भन्छिन्, ‘उपाध्यक्ष भएर जनताको सेवामा पाँच वर्ष बित्यो; धेरै कामको अनुभव भयो; अब प्रमुख पद हाँक्न सक्ने भएकी छु ।’ महिलालाई कोटामै सीमित राखिनुहुन्न भन्ने उनको तर्क छ । त्यसैका लागि उनी प्रचारमा खटिएकी छन् । एकातिर स्थानीय तहको काम अर्कोतिर निर्वाचनको प्रचारमा खटिनुपर्दा हम्मेहम्मे भएको उनी बताउँछिन् ।

उपाध्यक्ष भएर समन्वयकारी भूमिकाका रुपमा काम गरेको अनुभव बताउँदै उनले अब कार्यकारी भूमिकाका रुपमा काम गर्ने इच्छा रहेको बताइन् । उनी भन्छिन्‚ ‘हिजोको दिनमा जिरोबाट सुरु भएको थियो; अब अनुभवबाट सुरु गर्न पाउने अवस्था छ । स्थानीय तहको विकास कसरी गर्न सकिन्छ भन्ने एउटा कोर्स नै सिके ।’ सक्षम महिलाहरू नेतृत्वमा आउनुपर्छ । पाँच वर्षको अवधिमा विकास निर्माणका कार्यसँगै जिरो होम डेलिभरी, निःशुल्क एम्बुलेन्स सेवा, पूर्वसुत्केरी प्रतीक्षाघर, बालविवाहमा सुधार, कोरोना महामारीमा खाद्य संकट हुन नदिन फुड बैंकको अवधारणा ल्याउनु लगायत शिक्षा, स्वास्थ्य, युवा, कृषिका क्षेत्रमा गरेको कार्य प्रभावकारी बनेको उनले बताइन् ।

Advertisement

सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मा दलीय व्यवस्थामा दलको निर्णयअनुसार उम्मेदवारी दिने तर्क राख्छिन् । २०७४ सालको निर्वाचनमा एमाले पार्टीकै निर्णयमा उपाध्यक्षको टिकट पाएकी शर्मा सुरुको अवधिमा काम गर्न निकै चुनौती बेहोर्नुपरेको बताउँछिन् । चुनौती भए पनि त्यसलाई अवसरमा बदलेर निकै अभ्यास गर्न पाइएको उनको भनाइ छ । उनी भन्छिन्‚ ‘पाँच वर्ष उपाध्यक्ष भएर काम गर्दा गराइ र भोगाइले अनुभवी बनाएको छ । आत्मविश्वास र मनोबल बढाएको छ । म अध्यक्ष भएर पालिकाको अगुवाइ गर्न मेरो पार्टी नेकपा एमाले समक्ष दाबी प्रस्तुत गर्नेछु । पार्टीले मेरो दाबीको न्यायपूर्ण सुनुवाइ गर्छ भन्ने विश्वास लिएको छु ।’

उपाध्यक्षलाई न्यायिक समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक, अनुगमन समितिको संयोजक, बजेट बनाउनुपर्ने, संघसंस्थासँग समन्वय गर्नुपर्नेसहित ११ भन्दा बढी समितिको संयोजकको जिम्मेवारी छ । जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेको बताउँदै प्रमुख पदको नेतृत्व गर्न अग्रसर रहेको उनी बताउँछिन् । उनी भन्छिन्‚ ‘पाँच वर्षको जिम्मेवारी विभिन्न आरोहअवरोह गरेर सिक्दै आएँ; अब त्यो चुनौती सजिलै पार गर्नेछु । त्यसैले नेतृत्व गर्न सक्षम भएको छु ।’ महिलालाई ‘उप’ पदमै सीमित राखिँदा नेतृत्वमा पुग्न नसकेको उनी बताउँछिन् । प्रमुख पदमा सक्षम भएको कुरा राजनीतिक दलले बुझ्न जरुरी रहेको शर्माको भनाइ छ ।

Advertisement

एक पार्टीबाट अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनमा उप (उपाध्यक्ष, उपप्रमुख) पदमा महिलालाई नै उम्मेदवार बनाइयो र अधिकांश स्थानीय तहमा उनीहरू निर्वाचित पनि भएका छन् । धादिङ जिल्लामा १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा महिला र गठबन्धन भएको दुई स्थानीय तहमा पुरुष उप पदमा निर्वाचित भएका छन् । विगतका अनुभवलाई हेर्ने हो भने पनि गठबन्धन गरेका दलहरूले पुरुषलाई जिताएका छन् । उनीहरूले उम्मेदवार तय गर्दा नै मिलाएका हुन्छन् । उपमै सीमित भएका महिलाहरुलाई नेतृत्वमा पुग्नै दिएनन् ।

देवी पाण्डे बुर्लाकोटी त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष हुन् । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी उनी अबको निर्वाचनमा पालिका प्रमुखको आकांक्षी देखिएकी छन् । गाउँपालिकाको विकास, परिवर्तनका लागि अहोरात्र खटिँदै आइरहेकी उनी कामसँगै निर्वाचनमा होमिएकी छन् । कांग्रेसको एक महिने ‘घरघर जाऔँ, का|ग्रेस जिताऔँ’ अभियानअन्तर्गत गाउँगाउँ‚ टोलटोलमा कार्यकर्ता फकाउँदै, मतदाता शिक्षा सिकाउनैमा व्यस्त भएकी छन् । उनी भन्छिन्‚ ‘महिलाले पनि नेतृत्व गर्न सक्छ भन्ने पाठ यो पाँच वर्षमा सिकेको छु; पालिकाको नेतृत्व लिन सक्षम भएको छु ।’

उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामा आगामी निर्वाचनमा राप्रपाबाट अध्यक्ष पदको दाबी प्रस्तुत गर्ने बताएकी छन् । अबको नेतृत्वमा महिलालाई अगाडि बढाउन सबैले पहल गर्नुपर्ने बताउँदै उनी भन्छिन्‚ ‘विभिन्न बहानामा महिलालाई खुम्च्याउने हो भने नेतृत्वमा महिला कहिल्यै आउन सक्दैनन् । भौगोलिक विविधता भएको र विकासको हिसाबमा निकै पछाडि पारिएको पालिकामा काम गरेकी छु । म नै अब्बल हुँ पालिकामा भन्न त सक्दिनँ, अरू साथीहरू पनि हुनुहोला । तर मैले पाँच वर्षे कार्यकालमा चुनौतीलाई अवसरमा बदलेर हाँसिल गरेको सिकाइ अनुभवबाट अब अध्यक्षको दाबी गर्न सक्ने भएको छु ।’

धादिङका राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । उनीहरूले आगामी निर्वाचनमा भ्रातृ संगठनदेखि कार्यकर्तालाई सक्रिय पार्न विभिन्न खालका भेला, भ्रातृ संगठनका अधिवेशन, नेतृत्व विकास तालिम, गोष्ठीहरू सञ्चालन गरिरहेका छन् । राजनीतिक दलहरू आ-आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् ।

जिल्लाको प्रशासनिक निकाय निर्वाचनको तयारीमा जुट्दै गर्दा राजनीतिक दलहरू पनि माहोल आफ्नो पक्षमा लिन वडास्तरसम्म खटिएका हुन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरू पनि निर्वाचनमा जुटिसकेका छन् । महिलाहरू पनि नेतृत्व लिन तयारी अवस्थामा रहेका छन् ।

प्रतिक्रिया