भैंसीलाई सुत्केरी भत्ता दिइने, पाडापाडीको जन्मदर्ता !
बनेपा , पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’लाई ठूलो महत्व दिए। अन्यत्रका नगरपालिकाले ‘स्मार्ट सिटी’ तथा ठूला–ठूला पूर्वाधारलाई प्राथमिकता दिइरहेका बेला पनौतीले भैंसीका लागि भनेर कार्यक्रम नै तोकेकोमा कौतूहलता हुनु स्वाभाविकै थियो।
पनौतीले अघि सारेको यो कार्यक्रमले बहुपयोगी पशु भैंसीको संरक्षण र सम्बद्र्धनको माध्यमबाट कृषकको जीविकोपार्जनमा उल्लेख्य सुधार आउने यस क्षेत्रका प्राविधिकको ठम्याइ छ। ‘भैंसी बहुपयोगी पशु भएकाले उत्पादनशील अवस्था र दूध थाकेका बखतसम्म किसानलाई फाइदा नै हुन्छ। यसैले पनि भैंसी पाल्दा बेफाइदा हुने गुन्जायस नै रहन्न,’ नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले भने, ‘यस कार्यक्रमले नगरक्षेत्रका भैंसीको आनुवंशिक संरक्षण र उत्पादनशीलता बढाउने कार्यलाई विशेष जोड दिएको छ।’
अघिल्लो आर्थिक वर्षमा पशु स्वास्थ्य तथा पशु सेवाका कार्यक्रममा न्यून बजेट विनियोजन गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा समृद्धिका लागि पशुपालन शीर्षकअन्तर्गत भैंसी सुत्केरी भत्ता वितरण, पाडी हुर्काउने कार्यक्रम, पाडापाडीको जन्मदर्तालगायत कार्यक्रमका निम्ति उल्लेख्य बजेट विनियोजन गरेको छ। यस वर्ष पशु सेवा प्रसार, पशु स्वास्थ्य, जीविकोपार्जन सुधार, समुद्धिका लागि पशुपालनलगायत एक सयभन्दा बढी कार्यक्रम सञ्चालनमा ९९ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेको सापकोटाको भनाइ छ।
‘हामीले भैंसीलाई सुत्केरी भत्ता, पाडापाडी संरक्षण, गोठ सुधार तथा टाट्नो सुधारमा किसानले गर्नुपर्ने संरक्षणका क्रियाकलापको कार्यविधि स्वीकृत गराइसकेका छौं। यसैमा आधारित रहेर भैंसी संरक्षणका कार्यक्रम सञ्चालन हुनेछन्,’ उनले थपे।
पहिलोपटक सञ्चालन गर्न थालिएको भैंसी सुत्केरी भत्ताका लागि नगरपालिकाले पाडापाडीको जन्म दर्ता र माउको बिमा अनिवार्य गरेको छ। यस कार्यका लागि नगरमा कार्यरत प्राविधिक (पाराभेटेरिनरियन)लाई जिम्मेवारी तोकिएको छ । किसानले भैंसी ब्याएको खबर गर्नासाथ उनीहरु गोठमै पुगेर भैंसी, जन्मेको पाडा या पाडी र धनी कृषकलाई एकै साथ राखेर फोटो खिच्छन्। त्यसपछि विभिन्न विवरण समावेश भएको जन्म दर्ता प्रमाणपत्र भैंसी धनीलाई उपलब्ध गराउँँछन्।
‘घरमै हुर्काएको या पालेको भैंसीलाई मात्रै सुत्केरी भत्ता उपलब्ध गराउने नीति भएकाले सो तथ्य यकिन गर्न तीनजना साक्षी र वडाअध्यक्ष या वडा सदस्यको रोहबरमा प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाएका छौं। यसबाट भैंसी पाल्ने किसानमात्रै लाभान्वित हुनेछन्,’ सापकोटाले भने।
नगरमै पहिलो पटक पनौती–९, डिकोडाँडास्थित कमलमाई तिमल्सिनाको भर्खरै जन्मिएको पाडीलाई गोठमै पुगेर पशु चिकित्सक सापकोटाले जन्मदर्ता प्रमाणपत्र दिए। प्रमाणपत्र पाएलगत्तै तिमल्सिनाले पनि पाडी हुर्काउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘अहिले जन्मेको पाडी हुर्काएर ब्याएपछि १० हजार अनुदान र सुत्केरी भत्ता पाँच हजार गरी १५ हजार रुपैयाँ नगरपालिकाले दिने भएपछि किन बेच्छु? जसरी पनि हुर्काउँछु, यो राम्रो जातको कृत्रिम गर्भाधानबाट जन्मेको पाडी हो नि !’ उनले खुसी हुँदै भनिन्।
नगरपालिकाबाट हाललाई पहिलो बेतमा ब्याएको थोरे भैंसीलाई पाँच हजार र दोस्रो पछि जुनसुकै बेतको भैंसी भए पनि दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था मिलाइएको छ । भैंसीको सुत्केरी भत्ताको प्रभावकारिताको आधारमा समयानुकूल वृद्धि गर्दै र अन्य योजनासमेत थप गर्दै लैजाने नगरपालिका पशुपक्षी शाखाको नीति छ।
‘यी सबै क्रियाकलापबाट नगरक्षेत्रका किसान भैंसीपालनमा असल व्यवस्थापन विधि लागू गर्न अभ्यस्त हुनेछन्,’ पशु चिकित्सक सापकोटाले भने। यसअघि तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा कार्यरत रहँदा उनकै अग्रसरतामा पाडापाडी हुकार्उने र थारो भैंसीलाई उत्पादनशील बनाउने कार्यक्रमले व्यापकता लिएको थियो।
‘दूध घट्न थालेका, थारो र बाँझो भैंसी पालिरहँदा बढी लगानी गर्नुपरेको भन्दै बेच्ने क्रम बढेको हो। किसानले प्रोत्साहन नपाउँदा अनुत्पादक भैंसीलाई उत्पादनशील बनाउनुको साटो सस्तोमा बेच्दै महँगोमा नयाँ भैंसी किन्न रुचाएका हुन्। त्यो क्रम रोक्नु नै हाम्रो कार्यक्रमको प्रमुख लक्ष हो,’ सापकोटाले भने।
उनका अनुसार पनौती नगरमा पाँच वर्षअघि भैंसीको संख्या १० हजारभन्दा बढी थियो। अहिले ४८ सयवटा मात्रै छ। त्यसमा आधाभन्दा बढी पाडा–पाडी छन्। घट्ने क्रम नरोकिएकाले विशेष कार्यक्रम ल्याएको उनले बताए।
पनौती नगर क्षेत्रमा यतिखेर यतिखेर मुर्रा क्रस, लिमे र पार्कोटे भैंसीको बाहुल्य छ । कम्तीमा ७५ हजारदेखि डेढ लाख रुपैयाँसम्ममा भैंसी किनबेच हुन थालेको छ। पनौती नगर क्षेत्रमा उत्पादित दूधमध्ये स्थानीय खपतबाहेक दैनिक ५५ हजार लिटर बनेपासहित काठमाडौं उपत्यका जान्छ।
हाल प्रतिभैंसीको औसत दूध उत्पादन आठ लिटर रहेकोमा बढाएर १२ देखि १४ लिटर प्रतिदिन/प्रति भैंसी पु-याउन नगरपालिकाले कृत्रिम गर्भाधानमा विशेष जोड दिएर १५ जना प्राविधिकलाई दक्ष बनाएको छ। कृत्रिम गर्भाधानबाट जन्मेका र उन्नत जातका पाडी हुर्काउने किसानलाई नगरपालिकाले १० हजार रुपैयाँ अनुदान दिन्छ। किसान आफैंले हुर्काएको पाडी ब्याएपछि मात्रै यस्तो अनुदान पाउँछन्। पाडीको स्वास्थ्य परीक्षण, परजीवीविरुद्ध औषधि, आवश्यक खोप, पाठेघरको सफाइ (फ्लसिङ), कृत्रिम गर्भाधान र ९० दिनपछि गर्भ परीक्षण, मिनरल, घाँसको बीउ–बेर्ना वितरणका साथै बिमासमेत नगरपालिकाले गरिदिने कार्यविधिमा उल्लेख छ।
पशु सेवा विभागको तथ्यांकअनुसार भैंसीले राम्ररी दूध दिने अवधि तीन सय सय दिन हो। यस अवधिमा मुर्राले १३ सय ७२, लिमेले एक हजार ४८ र पार्कोटेले एक हजार ३१ किलो दूध औसतमा दिने गरेको पाइएको छ। यसैलाई आधार मानेर मुर्राको ‘क्रस ब्रिडिङ’बाट जन्मेका पाडीबाट दूध उत्पादन बढेकाले पछिल्लो समय भैंसीको कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण बढेको छ।
‘कृत्रिम गर्भाधान कार्यलाई बढावा दिँदै जाँदा यसले आगामी चार वर्षभित्रमा पनौतीमा उन्नत जातका भैंसीको स्रोत केन्द्र स्थापना हुनेछ। त्यसपछि राम्रो जातका दूधालु भैंसी किन्न मधेश नै झर्नुपर्ने बाध्यता अन्त्य हुँदै जानेछ,’ नगर कृषि समितिका संयोजक एवं वडा नं १ अध्यक्ष गुणनाथ सापकोटाले भने।
नेपालको पशुपालनबाट कृषि गार्हस्थ उत्पादनमा पुग्ने योगदानमध्ये भैंसीले ५३ प्रतिशत हिस्सा आगेटेको केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालयले जनाएको छ। तर, देशमै राम्रो जातका भैंसीको स्रोत केन्द्र नहुँदा दुधालु भैंसीको माग धान्न भारतबाट बर्सेनि चार लाखवटा भैंसी ल्याइने हुँदा ४० अर्बभन्दा बढी रकम उता जाने गरेको देखाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया