आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

विदुर खबर २०७८ माघ २ गते १०:०४
फाईल फोटो ।

नुवाकोट । विसं १९९० माघ २ गते दिउँसो २ : २४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

Advertisement

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

Advertisement

कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ : ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो ।

आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

Advertisement

भूकम्पपछिको पुनःनिर्माण भूकम्प प्रतिरोधी भएकाले सुरक्षित रहेको जनाइएको छ । पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प नगएकाले शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ ।

भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञको अध्ययनबाट देखिएकाले त्यस क्षेत्रमा जनचेतना फैलाउने कामलाई विभागलगायत सरोकार भएका निकायले प्राथमिकतामा राखेका छन् ।

दाङबाट पश्चिमका जिल्लामा अहिलेदेखि नै भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि विभागले चेतना जगाउने अभियान सुरु गरेको छ । यसका लागि त्यहाँका स्थानीय सरकारसँग पनि सहकार्य गरिएको जनाइएको छ ।

प्रतिक्रिया