चिलिमे जलविद्युतका लगानीकर्ताले यसरी जोडे शेयरबाट सम्पत्ति

विदुर खबर २०७८ पुष २७ गते २०:४०

नुवाकोट । नेपालको जलविद्युत्‌‌ आयोजना निर्माणमा मौलिक र सफल मोडल मानिन्छ, चिलिमेलाई।

Advertisement

२०६० सालमा सञ्चालनमा आएको रसुवास्थित २२ मेगावाटको यो परियोजनामा सार्वजनिक-निजी साझेदारी छ। जलविद्युत्‌‌ विकासका लागि चिलिमेले नेपाली आत्मविश्वास जति उँचो पार्‍यो, स्थानीय सर्वसाधारणको जीवनस्तर सुधारमा उत्तिकै सहयोग पनि गर्‍यो।

त्यसको उदाहरण हुन्, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेका कमल तामाङ। आफ्नै घर नहुँदा तामाङको परिवार लामो समयदेखि अर्काको घरमा बस्न बाध्य थियो। २०६७ सालमा चिलिमे जलविद्युुत् कम्पनीले जिल्लाबासीका लागि शेयर निष्कासन गर्न गरेको घोषणा उनको परिवारको नियति फेर्ने अवसर बन्न पुग्यो।

Advertisement

कमलको परिवारका कसैसँग पनि शेयरमा लगानी गर्ने रकमको अभाव मात्रै होइन, लगानीले दिने लाभबारे पनि अत्तोपत्तो थिएन। यसले फाइदा दिन्छ भन्ने सुनेकै भरमा उनी शेयरमा लगानी गर्न तयार भए। प्रति कित्ता ३२३.७० का दरमा चिलिमेको ४४ कित्ता शेयर किन्दा उनले आफ्नै खल्तीको रु.३ हजार २३७ हाले, बाँकी करीब रु.११ हजार ब्यांकले लगानी गरिदियो।

चार वर्षभित्रै कमलसँग बोनसबाट पाएको सहित शेयर संख्या १०८ कित्ता पुग्यो, जसलाई उनले प्रति कित्ता रु. २ हजार ६ सय ५० दरमा बिक्री गरे। २०७१ सालमा उनले आफूसँग भएको सबै सेयर रु.२ लाख ८६ हजार २०० रुपैयाँमा बिक्री गरे। यो रकममा थप पैसा जुटाएर उनले आफ्नै घर बनाए। कमल भन्छन्, “चिलिमेको शेयर नभएको भए मेरो घर अहिलेसम्म पनि बन्थ्यो कि बन्ने थिएन, थाहा छैन।”

Advertisement

कालिका गाउँपालिका-२ का शेखर घिमिरेले पनि चिलिमेकै शेयरबाट आम्दानीको नयाँ ढोका उघारे। पेशाले शिक्षक घिमिरे र उनकी श्रीमतिलाई ४४/४४ कित्ताका दरले चिलिमेको शेयर परेको थियो, जुन चार वर्षभित्रै बोनस थपिएर २०८ कित्ता पुगेको थियो।

२०७१ सालतिर धितोपत्रको दोस्रो बजारमा चिलिमेको शेयर मूल्य प्रतिकित्ता रु.२७ सय हाराहारी पुगेपछि उनले आधाउधी शेयर बेचे र त्यसबाट आएको रकममा थपेर गाउँ नजिकैको बजारमा घडेरी किने। त्यही जग्गामा घर बनाएका उनको सम्पत्तिको मूल्य अहिले कैयौं गुणा बढेको छ। “मौकामा सदुपयोग गर्न जानिएकाले शेयरबाट राम्रो प्रतिफल लिन सकियो,” घिमिरेले भने।

तामाङ र घिमिरे त उदाहरण मात्रै हुन्। रसुवामा चिलिमे जलविद्युत्‌‌ आयोजनको शेयरको लाभले धेरैको जीवनस्तर फेरिएको छ। कैयौं परिवारले नयाँ घरजग्गा जोडेका छन् भने कतिपयले व्यवसाय शुरू गर्ने पूँजी पनि पाएका छन्। एक दशकअघि प्रति व्यक्ति रु.१४ हजार हाराहारीमा लगानी गरेका रसुवाका सर्वसाधारणसँग शेयरको सम्पत्तिको मूल्य करीब १० गुणा बढिसकेको छ।

दोस्रो बजारमा चिलिमे कम्पनीको शेयरको मूल्य अहिले घटे पनि एउटा परिवारसँग औसतमा रु. ६-७ लाख मूल्यको शेयर छ। हरेक वर्ष कम्पनीले गर्ने कमाइबाट वितरण हुने नगद लाभांश पनि पाउँछन्।

गोसाइँकुण्ड गाउँपालिका-५, ठुलोस्याफ्रुका लाक्पा ग्याल्सेन तामाङले परिवारका सबैको शेयर बिक्री गरेर सात वर्षअघि काठमाडौंमा घडेरी जोडे। प्रति आना साढे ३ लाख तिरेका उनलाई अहिले जग्गाको बढेको मूल्यले उत्साहित बनाएको छ। “त्यति वेला शेयर बेचेर काठमाडौंमा किनेको जग्गाको मूल्य अहिले कैयौं गुणा बढिसकेको छ,” उनले भने।

सर्वसाधारणको लगानी

निर्माणक्रममा अनेकौं अप्ठ्यारा भोगेको चिलिमेले २०६० सालमा उत्पादन थालेको थियो। सञ्चालनमा आएको सात वर्षपछि यो परियोजनाले स्थानीय बासिन्दाका लागि ९ लाख ६० हजार कित्ता शेयर बिक्री गरेको थियो। आयोजना प्रभावित तत्कालीन तीन गाविस चिलिमे, स्याफ्रु र गोल्जुङका बासिन्दाका लागि एक सय अङ्कित मूल्यको एक लाख ८० कित्ता र प्रिमियम मूल्य सहित ३२३.७ रुपैयाँमा एक लाख ५६ हजार कित्ता शेयर बिक्री गरिएको थियो।

त्यसै गरी, तत्कालीन बाँकी १५ गाविसका बासिन्दालाई प्रिमियम सहित प्रति कित्ता ३२३.७ रुपैयाँका ६ लाख २४ हजार कित्ता शेयर बाँडिएको थियो। आयोजना प्रभावित तीन वटा गाविसका सर्वसाधारणले प्रति व्यक्ति ७० कित्तासम्म र बाँकी १५ गाविसका सर्वसाधारणले प्रति व्यक्ति ४६ कित्तासम्म लगानी गर्न पाए।

कम्पनीकै पहलमा स्थानीयबासीलाई शेयर किन्न दुई ब्यांक मेगा र जनताले ८० प्रतिशतसम्म ऋण लगानीको व्यवस्था गरिदिएका थिए। यसले हातमा पैसा नहुनेलाई पनि शेयर किन्न सजिलो बनाइदिएको थियो।

नेपालमा जलविद्युत्‌‌ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयरमा लगानीको अवसर दिने शुरूआत नै चिलिमेले गरेको थियो। नेपाल धितोपत्र बोर्डले २०६५ सालमा जारी गरेको ‘धितोपत्र सूचीकरण तथा वितरण नियमावली २०६५’ ले जलविद्युत् परियोजनाले स्थानीयलाई शेयर निष्कासन गर्नुपर्ने व्यवस्था गर्‍यो।

त्यससँगै नियमावलीले पाँच प्रतिशतसम्म शेयर स्थानीय बासिन्दाका लागि छुट्याउनुपर्ने गरी लगानी सुरक्षित गरेको थियो। त्यसै वर्ष रसुवाका स्थानीयले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाका साथै राजनीतिक दबाबका कारण धितोपत्र बोर्डले नियमावलीमा संशोधन गरेर पछि १० प्रतिशतसम्म शेयर स्थानीयलाई दिनुपर्ने व्यवस्था गर्‍यो।

अन्तर्राष्ट्रिय वित्त निगमले सन् २०१८ मा गरेको एक अध्ययनले चिलिमेले देखाएको स्थानीय बासिन्दालाई शेयर लगानी गर्ने मोडलले स्थानीय समुदायले पूँजीगत लाभको फाइदा कमाउने मौका पाएको र परियोजनामा स्थानीय स्वामित्वका कारण कम्पनीहरूले स्थानीय बासिन्दाको सहयोग पाएर अवरोध नभएको उल्लेख गरेको छ।

अध्ययनले स्थानीयले पाएको शेयर स्वामित्व तथा यसले दिएको आम्दानीका अवसरहरूले सीमान्तीकृत वर्गको सम्पत्तिमा पहुँच, वित्तीय साक्षरता, पारिवारिक स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा ठोस प्रतिफल दिएको पनि उल्लेख गरेको छ।

हिमालखबर साभार


प्रतिक्रिया