कांग्रेसमा थापा र शर्माको उदय
नुवाकोट । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनले केन्द्रीय कार्यसमितिका लागि चयन गरेका नेताहरूको मतपरिणाम आउने क्रम जारी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा उपसभापति र महामन्त्रीको नतिजा सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको मतगणना कार्य जारी छ । यसअघि सभापतिमा डा. शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः निर्वाचित भइसक्नुभएको छ ।
कांग्रेसको दुई उपसभापतिका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापतिका उम्मेदवारहरु विजयकुमार गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहलाई चुनावी मैदानमा हराउँदै खड्का र गुरुङ विजयी भएका हुन् । उपसभापतिमा विजयी भएपछि गुरुङले पुरानो अनुभव र नयाँको जोशलाई संयोजन गरेर पार्टीलाई अघि बढाउने बताउनुभएको छ । उहाँले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्ने जिकिर गर्दै भन्नुभयो– ‘पार्टीभित्र भागवण्डा गर्दैनौं । सबै साथीहरूको न्यायोचित व्यवस्थापन गर्छौं ।’ उपसभापतिका विजेता खड्का सभापति देउवा प्यानलका उम्मेदवार हुन् भने गुरुङ डा. कोइराला प्यानलका उम्मेदवार हुन् ।
त्यस्तै, दुई महामन्त्रीका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की चुनावी प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी थापा कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट निर्वाचन लड्नुभएको थियो । उपसभापतिमा कोइराला प्यानलका भण्डारी र महामन्त्रीमा रिजाल पराजित भएका छन् । त्यसै गरी, देउवा प्यानलका उपसभापति पदका उम्मेदवार गच्छदार र महामन्त्री पदका डा. महत पनि पराजित भएका छन् ।
महामन्त्रीमा पराजित भएलगत्तै रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । महामन्त्रीमा विजयी भएका एउटै प्यानलका नेता थापाले ३ हजार २३ मत ल्याउँदा रिजालले ८ सय ९ मत मात्र पाउनुभएको थियो ।

महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले अब चार वर्ष इमानदारीपूर्वक परिपक्व ढंगले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो अधिवेशनबाट कांग्रेसको मुख्य नेतृत्व नै बदल्ने आफूहरूको चाहना भए पनि अधिवेशनले दिएको म्यान्डेटलाई स्वीकार्दै कांग्रेसलाई आम जनताको भरोसाको पार्टी बनाउन आफू केन्द्रित हुने नवनिर्वाचित महामन्त्री थापाको भनाइ थियो । अधिवेशनमा गाउँदेखि केन्द्रसम्म नेतृत्वका लागि भएको आन्तरिक प्रतिस्पर्धाले आफ्नै नेता कार्यकर्ताबीच पनि केही अविश्वास तथा मनमुटाव बढेको जिकिर गर्दै उहाँले पार्टीभित्र सबैको विश्वास जित्ने गरी आफू अगाडि बढ्ने बताउनुभयो । यसले गलत काम गर्यो भनेर एक दिन पनि गुनासो गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै थापाले भन्नुभयो– ‘मलाई एक दिन पनि बिग्रने, चुक्ने र थाक्ने सुविधा छैन ।’

महामन्त्रीमा निर्वाचित भएलगतै सुुन्दरीजल पुगी बीपीको शालिकमा माल्यार्पण गरेका शर्माले भन्नुभयो– ‘सबैको मन जित्ने गरी काम गर्छु । मलाई महामन्त्रीमा जिताउन मत दिनेहरूप्रति सम्मान छ, मत नदिनेहरूप्रति पनि सम्मान छ । मत नदिनेहरूको पनि मन जित्ने गरी काम गर्छु ।’ यसअघि देउवा प्यानलमा रहेका शर्माले यो महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नबनाएपछि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिनुभएको थियो । पार्टी प्रवक्तासमेत रहनुभएका शर्मा पार्टीभित्र प्रभावशाली र चर्चित नेताका रूपमा परिचित हुनुहुन्छ ।

कांग्रेसभित्र उपसभापतिभन्दा पनि महामन्त्रीको जिम्मेवारी बढी छ । कांग्रेस विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको काम, कर्तव्य र अधिकार उल्लेख गरे पनि उपसभापतिका लागि छुट्टै धारामा काम कर्तव्य र अधिकार छुट्टाइएको छैन । उपसभापतिको मुख्य भूमिका सभापतिले तोकेको एक उपसभापति केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिठानको प्रमुख हुने भएकाले यसको जिम्मेवारी कसले पाउँछ भन्ने चासो छ । यो प्रतिष्ठानको प्रमुख पद देउवा प्यानलका उपसभापति खड्काले पाउने निश्चित छ । खड्का देउवा प्यानलभित्र ‘थिंक ट्यांक’का रूपमा समेत परिचित छन् । उपसभापति प्रमुख रहने केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको काम कारबाहीबारे कांग्रेस नियमावलीको परिच्छेद १२ मा उल्लेख गरिएको छ । योबाहेक सभापतिले आफू विदेश गएका बेलामा वा आवश्यकताअनुसार कार्यवाहक सभापतिको भूमिका निभाउने गरी उपसभापति तोक्न सक्नेछन् ।
कांग्रेस पदाधिकारीमा महामन्त्री सभापतिपछि शक्तिशाली मानिन्छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय नै महामन्त्रीको मातहतमा रहने व्यवस्था छ । कांग्रेस विधानमा महामन्त्रीले केन्द्रीय कार्यालय सञ्चालन र रेखदेख गर्ने उल्लेख गरिएको छ । केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्ने गराउने जिम्मेवारी पनि महामन्त्रीको हुन्छ । पार्टीको संगठन र संरचनालाई क्रियाशील र प्रभावकारी बनाउने तथा पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकताअनुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन र सुपरीवेक्षण गर्ने÷गराउने कार्य पनि महामन्त्रीकै जिम्मेवारीभित्र पर्छ । कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने कार्यका साथै सदस्यता वितरण गर्नेलगायत १२ नं बुँदामा महामन्त्रीको काम कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ ।

नेतृत्वको कटु आलोचकका रूपमा रहेका नेताहरू धनराज गुरुङ र गगन थापा उपसभापति र महामन्त्रीमा निर्वाचित भएपछि देउवालाई पार्टी सञ्चालनका लागि अघिल्लो कार्यकालमा जस्तो जथाभावी गर्ने छुट नमिल्ने केन्द्रीय सदस्यका उम्मेदवार मधुप्रसाद आचार्य बताउनुहुन्छ । यो समाचार तयार पार्दासम्म पदाधिकारीमध्ये आठ सहमहामन्त्रीको मतगणना भइरहेको छ । पदाधिकारीको मतगणनापछि केन्द्रीय सदस्यको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको हिजो साँझदेखि नै मतगणना शुरू भएको हो । दलित क्लस्टरको सहमहामन्त्रीमा देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । यो क्लस्टरमा गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । महिला क्लस्टरमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र कोइराला प्यानलबाट विकास लामा उम्मेदवार छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया