प्राधिकरण र अपी पावरबीच सम्झौता

विदुर खबर २०७५ भदौ ४ गते १:३३

Advertisement

काठमाडौँ,  अपी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपी पावर कम्पनीबीच आज विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा २५ वर्षका लागि पीपीए भएको हो । पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

Advertisement

उत्पादित विद्युत् परवानीपुरको ११ केभी परवानीपुर सबस्टेशनमा जोडिनेछ । “प्राधिकरणले कार्यवअधि १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,” कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भन्नुभयोे, “भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम शुरु गर्नेछ ।” कम्पनीले यसअघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ ।

अपिले रिडी पावर कम्पनीसहित प्राधिकरण सबस्टेशन नजिक सौर्य विद्युत् जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९ दशमलव ६१ देखि ८ दशमलव ४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पीपीए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पीपीएको दर प्रतियुनिट ७ दशमलव ३० रुपैयाँ कायम गरियो ।

Advertisement

यसअघि अपि पावर कम्पनीले छोटो समयमा करीव १७ महिनाभित्र ८ दशमलव ५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत् आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत् प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच गएको साउन २५ गते ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेकशनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रतिक्रिया