रोल्पाको घर्तीगाउँमा बस दुर्घटना हुँदा ४ को मृत्यु, १७ जना घाइते

विदुर खबर २०७८ मंसिर २ गते २१:१५

नुवाकोट । रोल्पामा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

Advertisement

दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट बेलुकी करिब ६ बजेतिर खसेको हो । प्रहरीका अनुसार घोराहीबाट बिहान हिँडेको ना ३ ख ५५१८ नम्बरको बस बेलुकी ५ बजेर ४० मिनेट जाँदा तार्केबाङस्थित सहिद मार्गबाट करिब १ सय फिट तल माडीखोलामा खसेको हो ।

दुर्घटनापछि बसमा सवारमध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

Advertisement

दुर्घटना लगत्तै प्रहरीसहित स्थानीयहरु उद्धारका लागि जुटे पनि अँध्यारो भएकाले उद्धारमा ढिलाई भएको थियो । बसका १७ जना यात्रु घाइते छन् । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

प्रनाउ सुवेदीका अनुसार दुर्घटनापछि बसमा ठूलो क्षति पुगेको र मृतकमध्ये दुई जनाको शव चेपिएको अवस्थामा देखिएकाले जेसीभीको सहयोगले अन्यको खोजी गर्न थालिएको हो । घर्तीगाउँस्थित प्रहरी चेक पोस्टको रेकर्ड अनुसार उक्त समयमा १० जना मात्रै यात्रु रहेको र आधा घण्टाको दुरीमा दुर्घटना भएकाले थप यात्रुसमेत भएको अनुमानमा प्रहरीले जेसीभीको मद्दतमा उद्धार थालेको हो । बस दुर्घटना हुनुको कारण भने पत्ता लागेको छैन । प्रहरीका अनुसार चालकको अवस्था समेत पत्ता लागेको छैन ।

Advertisement

थप उद्धारका लागि सदरमुकामबाट प्रहरी र दुई वटा एम्बुलेसन्स पठाइएको छ । अघिल्लो साता घर्तीगाउँ नजिकै जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया