नुवाकोटमा देउवा र महत पक्षको जिल्ला सभापतिमा रमेश महत

विदुर खबर २०७८ कार्तिक २७ गते १६:०६

नुवाकोट । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षका दुई केन्द्रीय सदस्य रहेको नुवाकोट जिल्लामा सभापति उठाउन नसक्ने अवस्था रहेको छ ।

Advertisement

काङ्ग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा केन्द्रीय तालिकानुसार ७७ वटै जिल्लामा अधिवेशनको रन्कोले काङ्ग्रेसका नेता–कार्यकर्ताको व्यस्तता बढाइरहेको छ । नुवाकोटमा पनि अधिवेशनबाट जिल्ला र केन्द्रीय महाधिवेशन र महासमिति सदस्यका लागि प्रतिनिधि पठाउन नेता रस्साकस्सी गरिरहेका छन् ।

नुवाकोटबाट काङ्ग्रेसको केन्द्रीय कार्यसमितिमा सहमहामन्त्रीसहित चारजना नेता रहेका छन् । केन्द्रीय सदस्य रहेका डा. रामशरण महत र अर्जुननरसिंह केसी केन्द्रीय समीकरणअनुसार पौडेल पक्षमा र सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामा देउवा पक्षमा रहेका छन् ।

Advertisement

केन्द्रीय समीकरणले प्रभाव नपार्ने नुवाकोट विगतदेखि नै महत दाजुभाइ र लामाको समूह र केसी समूह १२औँ जिल्ला अधिवेशनदेखि छुट्टाछुट्टै भिड्दै आएका छन् । १२औँ र १३औँ जिल्ला अधिवेशनमा देउवा पक्षलाई पछार्न सफल केसीले नुवाकोटमा एकछत्र आफ्नो समूह परिचालन गरिरहेका छन् । यसपटक पनि जिल्ला सभापतिका लागि चर्चामा आएका डा. केदारनरसिंह केसी र रमेश महत दुवै पौडेल पक्षका रहेका छन् । डा. केसीलाई दाइ अर्जुननरसिंहको साथ र सहयोग रहेको छ भने रमेश महतलाई रामशरण, प्रकाशशरण र बहादुरसिंह लामाको समर्थन देखिन्छ । यी दुवै सभापतिका आकाङ्क्षी पौडेल पक्षका हुन् । देउवा पक्षबाट जिल्ला सभापतिको उम्मेदवार बन्न खोजेका चोकराज शाक्यले रमेश महतलाई सभापतिमा सघाउने भएपछि जिल्लामा यसपटक पनि देउवा पक्षको सभापतिको उम्मेदवार नहुने अवस्था आएको हो ।

नुवाकोटमा देउवा र पौडेल पक्षले वडा र पालिकामा छुट्टाछुट्टै टिम बनाएर निर्वाचन भिडेका थिए । अब दुवै पक्ष मङ्सिर ३ गते हुने प्रदेश सभाको क्षेत्रीय अधिवेशनका लागि उम्मेदवार खडा गरेर प्रचार–प्रसारमा जुटिरहेका छन् । जिल्लाको चार वटा प्रदेश सभाको क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नं. १ प्रदेश ‘क’बाट महत दाजुभाइ र लामाको समूहबाट क्षेत्रीय सभापतिमा सुशील खड्का, प्रदेश ‘ख’ मा रामजी भट्टलाई उम्मेदवार बनाएको छ भने केसी समूहले प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा सरोज केसी, प्रदेश ‘ख’मा ऋषिकुमार तामाङलाई उम्मेदवार घोषणा गरेको छ । त्यसैगरी, जिल्लाको क्षेत्र नं. २ को प्रदेश ‘क’ बाट प्रदेश सभापतिमा केसी पक्षले श्याम ढुंगाना (अक्कल) र ‘ख’ मा आतमसिंह तामाङलाई मैदानमा उतारेको छ भने महत दाजुभाइ र लामा समूहले प्रदेश ‘क’ को प्रदेश सभापतिमा वैकुण्ठ पाण्डेलाई र ‘ख’मा गणेशमान तामाङलाई उम्मेदवार बनाएको छ । प्रदेश क्षेत्रीय अधिवेशनले ४ वटा प्रदेश कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ । उक्त अधिवेशनबाट एक प्रदेशबाट १५ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्नेछ ।

Advertisement

मङ्सिर ६ गते हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका लागि समेत दुवै समूहले उम्मेदवार घोषणा गरिसकेका छन् । केसी समूहले क्षेत्र नं. १ को सभापतिमा विषम रिमाल, महत दाजुभाइ र लामा समूहले ध्रुव श्रेष्ठलाई मैदानमा उतारेको छ । त्यसैगरी, केसी समूहले क्षेत्र नं. २ को सभापतिमा मछिन्द्रनरसिंह प्याकुरेललाई र महत दाजुभाइ र लामा समूहले जगत तामाङलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको ६ गते हुने अधिवेशनले दुई क्षेत्रबाट २५–२५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । दुई क्षेत्रबाट ५० जना छनोट हुने प्रतिनिधिका लागि आरक्षण, खुला र अन्य समूहबाट डेढ सयजना आकाङ्क्षी देखिएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीमा डा. केदारनरसिंह केसी, रमेश महत, जगदीश्वरनरसिंह केसी, धु्रव अधिकारी, सुरेन्द्र अधिकारी, चोकराज शाक्य, सन्तमान तामाङ, महेन्द्र थिङ तामाङ, वैकुण्ठ मिश्र, फैसिङ तामाङ, रामकृष्ण थापा, अप्सरा थापा, छत्र लामा, कल्पना नेपाली, बिन्दा अर्याल, ताराबहादुर कार्की, रुक्मिणी सेढाईं, भरत खड्का, राजु थापा, प्रतापसिंह तामाङ, वासु सापकोटा, वसन्तजंग ठकुरी, शिव दाहाल, राजकुमार भट्टराई, आशा तामाङ, सीता खतिवडा, ईश्वरी उप्रेती, योविन्द्रसिंह तामाङ, मायादेवी न्यौपाने, सन्तबहादुर घले, अर्जुन न्यौपाने, कृष्ण वाइवा, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कृष्ण कुइँकेल, शिव अधिकारी, रामकृष्ण खड्का, रमेश पाठक, प्रह्लाद पन्त, सीता मिजार, गीता अमात्य, अञ्जली पाण्डे, श्रीराम श्रेष्ठ, अञ्जु आचार्य, मञ्जु बुढाथोकी, दिनेश खनाल, अच्युत गुरागाईं, मञ्जु केसी, भवानी देवकोटा, राजु कँडेल, वैकुण्ठ खनाल, विष्णुकुमार पाठक, नरेश तामाङ, माधव अधिकारी, बद्री मुडभरी, प्रमोद राई, विष्णु नेपाल, जयराम दाहाल, हिरा पाण्डे, मोहन खड्का, विष्णु नेपाल, वलराम कार्की, राजन श्रेष्ठ, डा. रामशरण महतको पत्नी रोशना महत र डा. प्रकाशशरण महतकी पत्नी विना महतलगायत डेढ सयजना रहेका छन् ।

प्रतिक्रिया