मानव बेचबिखनमा संलग्न भएकाे आरोपमा नुवाकाेटका रामबहादुर तामाङ पक्राउ

नुवाकाेट । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पु¥याएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । ती महिला आफ्ना श्रीमानको शारीरिक तथा मानसिक यातनाबाट पीडित थिइन्। जसकारण उनले आफ्नो जीविकोपार्जन गर्न काठमाडौंको जमलस्थित एक किताब पसलमा सरसफाइको काम गर्न थालेकी थिइन्।
त्यसैक्रममा श्रीमानले आफ्नो साथी भन्दै जान्द्रेलाई चिनाएका थिए। चिनजानपछि जान्द्रेले ती पीडित महिलाको सम्पर्क नम्बर पनि लिइसकेका थिए। ती महिलालाई पटक-पटक फोन गरेर जान्द्रेले कहिले उनको तारिफ गर्थे त कहिले अर्कै ठाउँमा काम लगाउने भन्दै फकाउँथे।
‘निकै मेहनती रहिछौ। घरमा पनि राम्रो रहेनछ, कति श्रीमानको कुटाई गाली खाएर बस्छौ। मसँग राम्रो काम छ। पैसा पनि राम्रो पाउँछौ। काम गर्न जाने ठाउँ अलि टाढा छ तर चिन्ता नगर म आफैं लगेर छाडेर आउँछु। तिमीले साडीमा बुट्टा भर्ने काम गर्नुपर्दछ, खान बस्नसहित १० हजार दिन्छ,’ जान्द्रेको भनाई उदृत गर्दै प्रहरी उपरीक्षक द्विवेदीले भने।
पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताए । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया