काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका यात्रु ठगिए
नुवाकोट । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ ।

राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि यात्रामा ३ रुपियाँ फिर्ता नदिएको गुनासो आएपछि महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको हो । कात्तिक १ गतेदेखि समायोजन भएको भाडाअनुसार ५ किलोमिटर दूरीको १८ रुपियाँ र १० किलोमिटर दूरीको भाडा २३ रुपियाँ कायम गरेको थियो ।
व्यवसायीको मागअनुसार सरकारले भाडावृद्धि गरेपछि पनि मनपरीरूपमा भाडा असुली भइरहेको पाइए तापनि उजुरीचाहिँ निकै कम परेको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भन्नुभयो– ‘आज १० दिन भयो जम्मा ९ जनाले मात्र उजुरी दिएका छन् ।’ उहाँले उजुरी पर्नासाथ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले कारबाही गर्दा यात्रुलाई बढी असुलेको २ रुपियाँ फिर्ता गराएका छौं ।’
उहाँले बुधबारसम्म १ सय ८ सवारी साधनमाथि कारबाही गरिसकिएको र अहिले १ हजार ५ सयसम्म जरिवाना लिने गरिएकोमा केही दिनपछि नै ५ हजार रुपियाँसम्म जरिवाना लिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बढी भाडा लिने सवारीसाधनको विरुद्धमा उजुरी दिनसमेत आह्वान गर्नुभएको छ । यातायात व्यवस्था विभागले प्रदेश सरकारले तय गरेकोभन्दा बढी भाडा असुल्ने सवारीसधानमाथि ठगीको मुद्दा चलाउने चेतावनी दिएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले हालसम्म १९ वटा सवारीसाधनमाथि कारबाही गरिएको जानकारी दिनुभयो ।
१८ र २३ रुपियाँको सट्टा २० रुपियाँ भाडादर कायम गर्दा यस्तो समस्या नआउला कि भन्ने जिज्ञाशामा प्रवक्ता डा. भुसालले भन्नुभयो– ‘सरकारले कायम गरेको वैज्ञानिक भाडादरको विषयमा विभागले निर्णय गर्न मिल्दैन । तर बिजोर अंक भाडा लिँदा यात्रु ठगिने र सवारी धनी धनी हुने प्रवृत्ति देखिएको छ ।’ यातायात व्यववसायीले भने सिक्काको अभाव रहेको अवस्थामा सिक्का फिर्ता दिन सम्भव नभएकोे बताएका छन् । बैंकमा सिक्का लिनका लागि लाइनमा बस्ने अवस्था नरहेको उल्लेख गर्दै उनीहरू सरकारले भाडा व्यवस्थापन नगरे थप जटिलता आउन सक्ने बताउँछन् । विभागले भने सवारी सहचालकले सिक्का बोकेर हिँड्नुपर्ने र यात्रुसँग तोकेको भाडा मात्र लिनुपर्ने दोहोर्याएको छ । सरकारले असार २९ गतेदेखि लागू हुने गरी अन्तरप्रदेश राजमार्गमा चल्ने सार्वजनिक यातायात भाडा २८ प्रतिशतले वृद्धि गरेको थियो ।
छोटो दूरी र प्रदेशभित्रकै एक जिल्लाबाट अर्को जिल्लामा चल्ने यातायात भाडा भने बढाएको छैन । पहिलो चरणमा वागमती प्रदेश सरकारले मात्र भाडा वृद्धि गरेकोमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले दशैभर भाडावृद्धि नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘एक त फिर्ता नदिएको विषयमा हामीमाथि कारबाही थालिएको छ । अर्कोतर्फ केही प्रदेशले मात्र भाडा बढाएका कारण समस्या भएको छ । यही अवस्था रहे आन्दोलन गर्नुको विकल्प छैन ।’
असोज २५ गते प्रकाशित राजपत्रमा वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरका दरमा र लामो दूरीको हकमा २३ प्रतिशतले भाडा बढाउने निर्णय गरेको थियो । सोही भाडा विवादले अहिले उग्र रूप लिएको छ ।

वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दूरीमा १८ रुपियाँ, १० किलोमिटरसम्मको दूरीमा २३ रुपियाँ, १५ किलोमिटरसम्ममा २७ रुपियाँ र २० किलोमिटसम्म दूरीमा ३० रुपियाँ भाडादर तोकेको छ । २० किलोमिटरभन्दा बढी दूरीका लागि अधिकतम ३५ रुपियाँ भाडा तोकेको छ । सहचालक र चालकले २३ रुपियाँको साटो २५, २७ रुपियाँको साटो ३० र ३५ रुपियाँको साटो ४० रुपियाँ असुलिरहेका छन् ।
भाडादर अवैज्ञानिक
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले वागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्मको दूरीमा १८ रुपियाँ, १० किलोमिटरसम्मको दूरीमा २३ रुपियाँ, १५ किलोमिटरसम्ममा २७ रुपियाँ राखेर सरकार आफैंले चोरी खाने ठाउँ राखिदिएको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘शून्य अंक राखेर हिसाब मिलान गर्दा कुनै समस्या रहँदैन थियो, गाडी चालक वा सवारीधनी लाइन लागेर बैंकमा २ रुपियाँको सिक्का खोज्न जाने हो ?’

उहाँले पेट्रोलियम पदार्थमा २५ पैसा बढाएजस्तै सवारी भाडामा २ रुपियाँ फिर्ता दिनुपर्ने गरी गलत निर्णय गरेको आरोप लगाउनुभयो । दुई रुपियाँ फिर्ता दिने बेला चकलेट दिएको विषय उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘सिक्का नपाएपछि के गर्ने ? फिर्ता माग्नेलाई भए दुई रुपियाँ नभए चकलेट दिने गरेको हो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया