वाग्मतीमा आलोपालो मुख्यमन्त्री: समाजवादीबाट पहिला पाण्डे अनि कांग्रेसबाट बानियाँलाई मौका

विदुर खबर २०७८ कार्तिक ४ गते २०:४८

नुवाकोट । नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन्।

Advertisement

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार बिहीबार बिहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।

आज बसिरहेको प्रदेशसभा बैठकमा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति समेत भएको छ।

Advertisement

पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको प्रवक्ता तामाङले जानकारी दिए।

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए।

Advertisement

कांग्रेसले आफ्नो दाबी नछोडेपछि महामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो। प्रदेश सभामा अहिले विश्वासको मत लिने सम्बन्धी छलफल छ।

प्रतिक्रिया