नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी ३० को मृत्यु

विदुर खबर २०७८ कार्तिक २ गते ६:४८

लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

Advertisement

देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् । प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन् ।

“आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,” वक्तव्यमा लेखिएको छ । प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीहरूले आक्रमण गरेर भागेको जानकारी दिएका छन् ।

Advertisement

“आक्रमणकारीहरू मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,” एक प्रत्यक्षदर्शीले भने ।आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यस क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ ।

उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् । नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको पाइएको छ ।

Advertisement

प्रतिक्रिया