विगत सरकारका पालामा भएका काम पनि ओली सरकारका उपलब्धिमा समावेश

विदुर खबर २०७५ साउन २८ गते १४:३०

काठमाडौं–  सरकारले सोमबार प्रकाशित गरेको पाँच महिने उपलब्धिमा विगतका सरकारले गरेका कामलाई पनि आफ्नै उपलब्धि ठानेको छ।

सरकारद्वारा सार्वजनिक गरिएको ७४ पृष्ठको उपलब्धिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई वर्तमान सरकारको उपलब्धिका रुपमा लिइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत वर्षको साउनबाट निर्माण सुरु भएको थियो। तर, सरकारले आज प्रकाशित गरेको उपलब्धिमा वर्तमान सरकारको उपलब्धि भएको उल्लेख गरेको छ।

सरकारले प्रकाशित गरेको उपलब्धिमा दोहोरो र झुक्याउने भाषा प्रयोग गरिएको छ। उसले प्रस्तुत गरेको ‘ग्राफिक्स’मा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सूरु’ भनिएको छ। तर बुँदागत रुपमा गरिएको व्याख्यामा पनि विमानस्थल आयोजनाको निर्माण कार्यले गति लिएको उल्लेख छ।

नेपाललाई आइकाओको कालोसूचीमा हटाउने कार्य गत वर्ष नै भएको थियो। सन् २०१३ देखि आइकाओले कालोसूचीमा राखेको नेपालको हवाई उड्ययन क्षेत्रको अध्ययन गर्न आइकाओका दुई सदस्य गत वर्ष नेपाल आएका थिए। उक्त टोली जाँझबुझ पछि नेपाललाई कालोसूचीबाट हटाउनका लागि सकरात्मक देखिएको थियो।

टोलीको सुझाबअनुसार २०१७ को जुलाईमा हवाई क्षेत्रको कालोसूचीबाट नेपाल हटेको थियो। गम्भीर सुरक्षा चासो देखाएको आइकाओले उक्त सूचीबाट नेपाललाई हटाएपछि प्रमाणपत्र बुझ्न भने वर्तमान पर्यटन मन्त्री रवीन्द्र अधिकारी क्यानडा गएका थिए। उनले असारको पहिलो साता प्रमाणपत्र बुझेका थिए।

तर सरकारको उपलब्धिमा लेखिएको छ– ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले विगतमा नेपाललाई असुरक्षित हवाई सूचीमा राखेकोमा हवाइ सुरक्षा स्तर वृद्धि भएपछि सो सूचीबाट नेपाललाई हटाएको छ।’

स्वास्थ्य क्षेत्रमा यो अवधिमा तीन वटा मात्र उपलब्धि भएको विवरण सरकारले सार्वजनिक गरेको छ। तर, सार्वजनिक भएका तीन वटै उपलब्धि भने अघिल्ला सरकारका पालामा भएका काम हुन्। यो आधारमा हेर्दा वर्तमान सरकारले उल्लेख गर्न लायक कुनै पनि उपलब्धि हासिल गर्न नसकेको प्रष्ट हुन्छ।

सरकारले सय दिनको अवधिमा ६ वटा उपलब्धि हासिल गरेको सार्वजनिक गरेको थियो। तर, ५ महिनाको उपलब्धिमा तीन वटा उपलब्धि घटेर जम्मा तीन वटामा मात्र आएको छ।
यी हुन् केपी ओली सरकारले ५ महिनामा दावी गरेको स्वास्थ्य क्षेत्रका उपलब्धि

१. औषधीको मूल्य निर्धारण सम्बन्धी कार्य्विधि तयार गरिएको छ । यसका आधारमा देशका सबै भूभागमा बसोबास गर्ने नागरिकलाई सर्वसुलभ रुपमा औषधी उपलब्ध गराउन सकिने छ।

२. नेपालगञ्ज र जनकपुरमा शहिद गंगालाल हृदय केन्द्र अन्तर्गत मुटुरोगसम्बन्धी सेवा विस्तार गरिएको छ।

३. नागरिकको स्वास्थ्य विमाका लागि लक्षित ४२ जिल्लाहरूमध्ये ३६ जिल्लामा विमा कार्यक्रम सञ्चालन भई ९ लाख ५१ हजार ३३९ जना विमित भएका छन् । त्यस मध्ये १ लाख २६ हजार ८३१ जना अति विपन्न वर्गका नागरिकलाई सरकारद्वारा प्रिमियमको समेत व्यवस्था गरी विमित गरिएको छ।

सरकारले दावी गरेका यी तीन वटै उपलब्धि विगतका सरकारका पालामा नै भएका उपलब्धि हुन्। तीन नम्बरमा भएको बिमा गर्नेको संख्या ५ महिनाको अवधिका केही हजारको संख्यामा थपिएको बाहेक अरु कुनै उपलब्धि छैन। बिमा कार्यक्रम नियमित चलिरहेका कारण प्रधानमन्त्री तथा मन्त्री नै नहुँदा पनि नियमित कार्यक्रम अन्तर्गत बिमा गर्नेको संख्या स्वत बढ्ने थियो।
औषधिको काम पनि पुरानै सरकारका पालामा भएको थियो।

प्रधानमन्त्री ओलीको उपलब्धिमा सहिद गंगालाल हृदय केन्द्रबाट नेपालगञ्ज र जनकपुरमा मुटुरोग सम्बन्धी सेवा विस्तार गरिएको उल्लेख छ। यो सेवा तत्कालीन स्वास्थ्य मन्त्री थापाको पालामा भएको हो। सेवा विस्तारका लागि बजेट समेत उपलब्ध गराइएको थियो।

मुटुरोग सेवा विस्तार गर्न गंगालाल र भेरी अञ्चल अस्पतालबीच २०७३ फागुन २७ गते सम्झौता भएको थियो। स्वास्थ्य मन्त्रालयकी तत्कालीन प्रमुख विशेषज्ञ डा किरण रेग्मीको रोहबरमा भएको सम्झौतामा भेरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्रबहादुर चन्द र गंगालाल राष्ट्रिय ह्रदयरोग प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा ज्योतिन्द्र शर्माले हस्ताक्षर गरेका थिए। केन्द्रीय अस्पतालहरुले अति विशिष्टकृत सेवाहरु देशका अन्य अस्पतालहरुमा विस्तार गर्ने सरकारको नीति अनुरुप यो सम्झौता भएको हो।

यस्तै, जनकपुर अञ्चल अस्पतालसँग ०७४ बैसाख २१ गते मुटु रोगको सेवा विस्तार गर्ने सम्झौता भएको थियो। दुई अस्पतालबीच सहकार्यमा १० वर्ष सेवा दिने सम्झौता भएको हो।
अघिल्लो सरकारका पालामा भएको कामलाई पनि आफ्नो उपलब्धीको सूचीमा राखेको त छँदै छ। यही सरकारले घोषणा गरेर पनि कार्यान्वयन नगरेका कामलाई पनि उपलब्धी भएको भन्दै प्रचार गरेको छ। त्यसैमध्येको एक हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समयावधि सम्बन्धी विवरण।

सरकारको उपलब्धीमा भनिएको छ– २०७५ जेठ ७ गते देखि विमानस्थललाई दैनिक २१ घन्टा संचालनमा ल्याइएको छ।

तर, दैनिक २१ घण्टा उडान–अवतरणको समयावधि पुर्‍याइएको भनिएको सो विमानस्थलमा बढाइएको समयमा विमान अवतरण या उडान हुन सकेको छैन। र, दिनभर व्यस्त रहने विमानस्थलको धावनमार्गमा मर्मत र सुधारका लागि कम्तीमा ६ घण्टा आवश्यक पर्ने भएकाले दैनिक १८ घण्टाभन्दा बढी उडान अवतरण गर्न नमिल्ने हवाइ इन्जिनियर बताउँछन्। वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल उपलब्ध नभएसम्म त्रिभुवन विमानस्थलमा १८ भन्दा बढी समय उडान र अवतरण गर्न असम्भवप्रायः भएको उनीहरुको तर्क छ।

ad
Advertisement

प्रतिक्रिया