तालिवानको धम्कीपछि काबुलबाट अमेरिकी सेना फर्काउने कार्य तीव्र

विदुर खबर २०७८ भदौ ८ गते १३:३०

काबुल । अमेरिकाले आफ्ना सेना र उनीहरुसँगै फर्किन चाहने अफगानी नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको छ ।

Advertisement

तालिवानले तोकिएको समयसीमाभित्र आफ्ना सेना फिर्ता नगरे आक्रमण गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको हो ।

तालिवान र अमेरिकाबीच भएको सम्झौताअनुसार अमेरिकी नेतृत्वको पश्चिमेली देशका सेनाले बढीमा एक साताभित्रमा काबुल छोड्नुपर्ने हुन्छ । तर, तोकिएको समयमा सेना फिर्ता गर्न नसकिने फ्रान्स, बेलायत र जर्मनीले जनाएका छन् ।

Advertisement

३१ अगस्टपछि पनि आफ्ना सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडनले आज विश्वका ठूला अर्थतन्त्र भएका देश जी–७ राष्ट्रका सरकार प्रमुखसँग भर्चुअल बैठक गरिरहेका छन् । बैठकपछि बाइडेनले औपचारिक रुपमा अफगानिस्तानबारे निर्णय गर्नेछन् ।

अमेरिकी सैन्य गठबन्धनमा आबद्व अन्य मुलुकहरु फ्रान्स, बेलायत र जर्मनीले तालिवानसँग वार्ता गरेर समयसीमा बढाउनुपर्ने बताइरहेका छन् । तर, तालिवानले तोकिएको समयभन्दा लामो समय अमेरिकी सेना बस्न नमिल्ने र गरेमा सम्झौता उल्लंघन भएको मानिने जनाएको छ ।

Advertisement

सम्झौताविपरित अमेरिकी सेना काबुल बसेमा नराम्रो परिणाम निम्तिने सो समूहले चेतावनी दिएको छ ।

गत साता तालिवानले सत्तापलट गरेपछि अहिलेसम्म १०औं हजार मानिसले अफगानिस्तान छाडिसकेका छन् । हजारौ मानिस आफ्नो पालो कुरेर काबुल विमानस्थलमा पर्खिरहेका छन् ।

विदेशी सेनासँग काम गरेका अफगानीहरु सेनासँगै फर्किने इच्छा देखाएका छन् । तर, तालिवानले उनीहरुलाई विमानस्थल जान रोक लगाएको छ ।

प्रतिक्रिया