हाइटीमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

विदुर खबर २०७८ साउन ३२ गते १०:५९

नुवाकोट । क्यारेबियन मुलुक हाइटीमा आएको शक्तिशाली भूकम्पमा कम्तिमा ३ सय ४ जना मानिसको ज्यान जानुका साथै अन्य १ हजार ८ सय जनाभन्दा बढी घाइते भएका छन् ।

Advertisement

शनिबार बिहान हाइटीको पश्चिम भागलाई केन्द्रविन्दु बनाउँदै ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा चर्च र होटेलहरूलगायत थुप्रै भवन क्षतिग्रस्त भएका छन् ।

प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिना लामो संकटकाल स्थितिको घोषणा गरेका छन् । वास्तवमा हाइटी अझै पनि सन् २०१० को भयानक भूकम्पको प्रभावबाट पूर्णतः मुक्त भइसकेको थिएन ।

Advertisement

अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) का अनुसार यो पछिल्लो भूकम्पको केन्द्रविन्दु सेन्ट लुइस डु सुड शहर देखि करिब १२ किलो मिटर टाढा रहेको छ । भूकम्प करिब १ सय २५ किमि टाढाको तथा घना आवादी सहितको राजधानी पोर्ट औ प्रिन्सलगायत अन्य छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दु नजिकै बस्ने क्रिस्टेल्ला सेन्ट हिलेरले भनेकी छन्– ‘थुप्रै घर ध्वस्त भए, धेरै मानिसको ज्यान गए र केही घाइते अस्पतालमा छन् ।’ प्रधानमन्त्री एरियल हेनरीले भनेका छन्– ‘उद्धार कार्यका लागि टोली परिचालित भइसकेका छन् ।

Advertisement

सबैभन्दा महत्वपूर्ण कुरा भनेको भग्नावशेषबाट यथासम्भव धेरैभन्दा धेरैलाई जीवितै उद्धार गर्नु हो । विशेष गरी, लेस केयसस्थित स्थानीय अस्पतालहरू घाइतेले भरिएको बुझिएको छ । मैले विमानबाट भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरिसकेको छु ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्कालै हाइटीको दैवी प्रकोपलाई सम्बोधन गर्दै यूएसएआइडीले आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया