ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ

विदुर खबर २०७८ साउन १० गते १८:१५

नुवाकोट । धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो। पक्राउ परेका नक्कली डाक्टर रन्जितलाई ‘लिखत सम्बन्धि कसूर अपराधमा’ कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।

ललितपुर महानगरपालिका-२ घर भएका ३६ वर्षीय रन्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएपनि उनी फेला परेका थिएनन्।

Advertisement

सिआइबीका अनुसार रन्जितलाई आइतबार बिहान साढे ९ बजे महाराजगंजबाट पक्राउ गरिएको हो।  ‘डा रन्जितले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको पुष्टि भएपछि पक्राउ गरेका हौं,’ सिआइबीले भन्यो।  रन्जितले एनएमसीको नक्कली दर्ता नम्बर लिएर काम गरेको पाइएपछि लिखतसम्बन्धी कसुरको आरोपमा सिआइबीले एक साताअघि काठमाडौं जिल्ला अदालतमा गत फागुनमा मुद्दा दर्ता गरेको थियो।

२०७१ सालदेखि रन्जितमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए।

Advertisement

त्यही बेला डाक्टर रन्जित पनि अनुसन्धानमा तानिएका थिए। त्यसबेला ग्राण्डी अस्पतालमा कार्यरत रहेका रन्जितको आधिकारिकता खुलाई विवरण पठाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ फागुन ११ गते नेपाल मेडिकल काउन्सिल र ग्राण्डी अस्पतालको नाममा पत्र काटेको थियो। त्यस बेला सम्बन्धित निकायबाट सहयोग नभएको भन्दै सिआइबीले उक्त फाइल अघि बढाउन सकेको थिएन।

पछि अनुसन्धानको क्रममा डाक्टर रजिन्तले डाक्टर लक्ष्मी केसीको नाममा काउन्सिलमा रहेको दर्ता रहेको नम्बर १०८५५ नम्बर प्रयोग गरेर काम गरेको खुलेको थियो। उक्त दर्ता नम्बर प्रयोग गरी रन्जितले बीएण्डबी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, मानसिक अस्पताल ललितपुर, गणेशमान सिंह मेमोरियल अस्पताल र ह्याम्स अस्पतालको आइसियु, वार्ड तथा इमर्जेजेन्सीमा समेत काम गरेको अनुसन्धानबाट खुलेको थियो।

काउन्सिलको परीक्षामा फेल भएर अर्काको दर्ता नम्बरबाट काम गर्दै आएका उनै डाक्टर रन्जितलाई ग्राण्डी अस्पतालले २०७१ साउनमा ‘ग्राण्डी स्टार अफ दि मन्थ’का रुपमा पुरस्कृत समेत गरेको थियो। ग्राण्डीले उत्कृष्ट भनेर पुरस्कृत उनै डाक्टर रन्जित विरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ।

अनुसन्धान सुरु भएपछि जर्मनी फरार
सिआइबीले पछिल्लो समय सक्रियता देखाएर पुन: अनुसन्धान सुरु गरेको सुइँको पाएपछि डाक्टर रन्जित भने फरार भएर जर्मनी पुगेका थिए।

लामो समयसँग खोज्दा पनि डाक्टर नभेटिएपछि उनी जर्मनी पुगेको प्रहरीले पत्ता लगाएको थियो। एक वर्षअघि जर्मनी गएका डाक्टर रन्जित नफर्किएपछि सिआइबीले उनलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको थियो।

जर्मनीबाट नेपाल आइसकेको र काठमाडौंमा रहेको जानकारी पाएपछि सिआइबीले उनीमाथि निगरानी बढाएको थियो। सोही क्रममा आइतबार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। सोही सजाय माग गर्दै सिआइबीले मुद्दा दर्ता गरेको छ।

काठमाडौंको क्याम्पियन कलेजबाट आइएससी उत्तीर्ण गरेका थिए रन्जितले। रन्जित काउन्सिलका हालका रजिष्ट्रार डा कृष्ण अधिकारी मार्फत अध्ययनका लागी चीन गएका थिए। हाल रजिष्ट्रार पदमा रहेका डा अधिकारी यसअघि काउन्सिलका सदस्य समेत भइसकेका थिए।

चीनको थ्री गर्जेज विश्वविद्यालयबाट रन्जितले एमबिबिएस उत्तीर्ण गरेका हुन्। डा अधिकारी उक्त विश्वविद्यालयमा अध्यापन समेत गराउँथे।

प्रतिक्रिया