काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

विदुर खबर २०७८ साउन ७ गते ८:४६

नुवाकोट । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ ।

Advertisement

काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ ।तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ ।

Advertisement

कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिनुभयो ।कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ ।तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ ।

उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो । संक्रमणको दर बढेपछि थप योजना तयार गर्न थालेको जानकारी गराउँदै कुँवरले भन्नुभयो– ‘काठमाडौंमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सबै तयारी थालेका छाै ।’ महानगरले लक्षण देखिएको वडा र क्षेत्रमा पुगेर तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

Advertisement

अहिले अक्सिजनको समस्या नभएको र केन्द्रीय कोभिड अस्पतालमा कोभिड संक्रमितलाई भर्ना गर्न मिल्ने गरी सबै व्यवस्थापन भइसकेको जानकारी दिँदै कुँवरले भन्नुभयो– ‘सबै आइसोलेसन सेन्टरमा आवश्यकताअनुसार अक्सिजन सिलिन्डर व्यवस्थापन गरिसकेका छांै, त्यसैले तेस्रो लहर संक्रमण आउँदा विगतजस्तो समस्या हुँदैन ।’सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाएसँगै भीडभाड बढ्न थालेको छ । भित्री शहरमा किनमेल गर्न निस्कने अधिकांशले मास्क लगाउन छाडेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्न छाडेपछि संक्रमितको संख्या बढ्न थालेको छ ।स्थानीय प्रशासनले होटल र रेस्टुरेन्टलाई टेक अवे गर्न मात्र खुला गरे पनि अधिकांश होटल र रेस्टुरेन्ट खुला छन् । विद्यालय, सिनेमाघर, चिडियाघर, मनोरञ्जन स्थल, डान्स, डिस्कोलगायत क्षेत्र बन्द गराइएको छ ।सवारीसाधन र सपिङमल, ग्रोसरी पसललगायत दैनिक उपभोग्य सामग्री खरिद गर्ने क्षेत्र खुला गरेपछि राजधानीमा कोभिड संक्रमितको संख्या बढ्न थालेको हो ।

खुला भएका क्षेत्र व्यवस्थित गर्न महानगरले योजना तयार गरिरहेको बताउँदै कुँवरले भन्नुभयो– ‘भयावह अवस्थाबाट जोगाउन सबैलाई पूर्ण सावधानी अपनाउन आग्रह गरिरहेका छाै ।

प्रतिक्रिया