द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा : ‘मेरो जस्तो दुःख अरूलाई नहोस्’
नुवाकोट । दैलेखको नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् ।
उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन् । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखमय हुन्छ भन्ने उनको सोचाइ थियो । जीवन सोचे जस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो । श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन् ।
छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भएपनि अर्को विवाह गरिनन् । विसं २०५६ मा छोरा अमरको विवाह गरिदिइन् । उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो ।
त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीहरू माओवादीमा गएको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् किरु’ भन्ने उनलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमर बहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाइन् ।
एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए । घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे । ‘‘म घरको भुइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछन्” उनी भन्छिन् ।
छोराको चिन्ताले उनलाई सताइरह्यो । माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले रु आठ हजार रुपैयाँमा गोरु बेचिन् । छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाइन् । छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै समेत बसिन् ।
छोरालाई केही नहोस् भनेर देवी देवताको भाकलसमेत गरिन् । उनको मनको इच्छा न देवी देवताले बुझे । बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साविकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो ।
एक्कासी छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो । एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्को विकल्प थिएन । केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन् । अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो । अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।
तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसँग मरेको छोरा सम्झिनुको विकल्प रहेन । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन् ।
अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । उनी मुटु र मधुमेहसमेतको बिरामी रहेकी छन् । पैसा नहुँदा उपचार गर्न सकेकी छैनन् । अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । उनी भन्छिन्, ‘‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्ने बित्तिकै आँगनमा पानी राखिदिन्छु’’ उनले भनिन् ।
जीवनमा दुःखै दुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू आमाले पिडा भोग्नु नपरोस् ।’ सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौं व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया