पहिरोका कारण सल्यानका सात सय घर जोखिममा

विदुर खबर २०७५ साउन २० गते १५:२४

सल्यान,  लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् ।

Advertisement

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।

जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो ।

Advertisement

जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । “चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम अन्य जिल्लाको तुलनामा यस जिल्लामा बढी छ”, उहाँले भन्नुभयो । अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि करोडौँको भौतिक क्षति भएको उहाँको भनाइ छ ।

कपुरकोट र खर्सुवास उच्च जोखिममा 

Advertisement

पहिरोका कारण कपुरकोट बजारसमेत उच्च जोखिममा परेको छ । वर्षात्का कारण सो क्षेत्रको राप्ती लोकमार्गको झण्डै १०० मिटर भाग भासिएको छ । २०६९ सालमा सोही स्थानमा रहेको कालिका माविका तीन वटा भवन भासिएर भत्किँदा रु एक करोड बराबरको क्षति भएको थियो ।

आज परेको अबिरल वर्षाले नयाँ ठाउँमा सारेको विद्यालय भवनसमेत पहिरोको जोखिममा परेको छ । वर्षाले विद्यालय प्राङ्गण निर्माण गर्न राखिएको १७५ वटा जाली बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रवीर कवरले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा जोखिममा रहेका बस्तीमध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायाममा जस्तै यस वर्ष पनि यहाँ पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेको खर्सुबास गाउँवासी टीकाराम पुनले बताउनुभयो । “पानी पर्न थालेपछि पहिराको डरले रातभर जाग्राम बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

पहिरोको उच्च जोखिममा भए पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको पुनको भनाइ छ । विसं २०६९ मा गाउँको बीच भागबाट ठूलो पहिरो गएपछि वर्षेनी पहिरो खस्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया