छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

विदुर खबर २०७५ साउन २० गते १:२५

बैतडी, छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो ।

Advertisement

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो । सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।
छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ उहाँले भन्नुभयो, “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उहाँको भनाइ रहेको छ ।
दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुलले बताउनुभयो । श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप रु एक हजार मिल्यो, उहाँले भन्नुभयो, “पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।”

गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौबाट प्रोत्साहनस्वरुप भत्ता दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । छोरी जन्मिदा आमालाई प्रोत्साहनभत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

Advertisement

प्रतिक्रिया