एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने

विदुर खबर २०७८ जेठ ३१ गते ८:०९

नुवाकोट । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

Advertisement

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।  ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएका हौं,’ उनले भने । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने उनले बताए ।

यसरी हुनेछ मूल्यांकन

Advertisement

एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्नेछ ।

मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोकेअनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । त्यसपछि मूल्यांकन नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउनेछ । इकाइले विद्यालयले बुझाएको मूल्यांकन नतिजा रुजु एवं प्रमाणित गरी असार महिनाभित्र राष्ट्रिय परिक्षा बोर्डमा पठाउनुपर्नेछ ।

प्रतिक्रिया