मापदण्डविपरीतका बाख्रा लिन किसानहरुद्धारा अस्वीकार

विदुर खबर २०७८ जेठ २९ गते १९:४८

नुवाकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ५ वडाका पाँच कृषक समूहलाई वितरण गर्न ल्याएका बाख्रा मापदण्डविपरीतका भन्दै किसानले अस्वीकार गरेका छन् ।

Advertisement

किसानले अस्वीकार गरेपछि नगरपालिकाले बाँकेको एक कम्पनीमार्फत खरिद गरी ल्याइएका बाख्रा फिर्ता पठाएको छ । मुसीकोट नगरपालिकाले बाख्रा खरिदका लागि बाँकेको केयर नेपाल प्रालिसित सम्झौता गरेको थियो । तर रुकुम पश्चिम पुर्‍याइएका बाख्रा मापदण्डअनुसारका नभएको भन्दै आधा बाख्रा फिर्ता गरिएको हो ।

प्रालिले पहिलो चरणमा ५६ वटा बाख्रा मुसीकोट पुर्‍याएको थियो । त्यसमध्ये ३० वटा बाख्रा एउटा किसान समूहलाई वितरण गरिएको छ । २६ वटा बाख्रा फिर्ता पठाइएको छ ।

Advertisement

कमजोर बाख्रा खरिद गरेर वितरण गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा नगरपालिकाको विरोध भइरहेको छ । नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले किसानले भन्नुभन्दा पहिल्यै फिर्ता पठाउने बाख्रा छुट्याइसकेको बताइन् । ‘हामीले त्यस्ता बाख्रा ल्याउन भनेको होइन, सम्झौता पनि जमुनापारि क्रस ल्याउने भएको थियो,’ उनले भनिन्, ‘तर अरू अरू नै बाख्रा ल्याइएपछि त्यसलाई फर्काइएको हो ।’ किसानलाई कस्ता बाख्रा वितरण गर्ने भन्नेबारेमा नगरपालिका सचेत रहेको उनको भनाइ छ ।

दोस्रो पटकमा पनि सम्झौताअनुसारको काम नभए सम्झौता तोड्ने नगरपालिकाले जनाएको छ । ‘देखी–देखी त्यस्तो बेइमानी गर्नेलाई छोड्ने कुरा भएन,’ सापकोटाले भनिन्, ‘घटनाबारे छानबिनसमेत गरिरहेका छौं ।’ चालु आर्थिक वर्षमा नगरपालिकाका ५ वडाका ५ किसान समूहलाई ३०/३० वटाका दरले बाख्रा वितरण गर्ने कार्यक्रम छ । त्यसमा संघीय सरकारले १० लाख, मुसीकोट नगरपालिकाले १० लाख र सबै किसान समूहले ५० हजार रुपैयाँका दरले रकम जुटाएका छन् ।

Advertisement

प्रालिले १८ लाख ४२ हजार रुपैयाँमा ५ समूहका लागि १ सय ५० वटा बाख्रा खरिद गरी वितरण गर्ने सम्झौता नगरपालिकासित गरेको थियो । १ नम्बर वडाको हजारी बाख्रापालन समूह, ५ नम्बर वडाको सयुंक्त बाख्रापालन समूह र ६ नम्बरको जनजागरण बाख्रापालन समूहलाई बाख्रा वितरण गरिने कार्यक्रम छ ।

७ नम्बर वडाको सूर्यमूखी बाख्रापालन किसान समूह र ८ नम्बर वडाको काप्रिवास बाख्रापालन समूहले बाख्रा पाउनेछन् ।

 

प्रतिक्रिया