विद्यार्थी भर्ना अभियान थाल्ने स्थानीय तहहरुको तयारी

नुवाकोट । आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् ।
शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।
स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् । यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्यांकनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ ।
ललितपुर महानगरपालिकाले भर्ना अभियान अवधिमा आलोपालो गरेर अभिभावक बोलाइ पाठ्यपुस्तक उपलब्ध गराउन विद्यालयहरुलाई भनेको छ । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले शिक्षा मन्त्रालयको निर्देशन कार्यन्वयनमा जान लागेको बताए ।
काठमाडौं महानगरपालिकाले भने नयाँ शैक्षिक सत्रको भर्ना अभियान र पुस्तक वितरण सम्बन्धमा बल्ल छलफल थालेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले प्रधानाध्यापकहरु सहितको छलफलको आधारमा निर्णय गरिने बताए ।
उपत्यकाबाहिर विराटनगर महानगरपालिकाले पनि कोरोना महामारीमा वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान चलाउने तयारी गरेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडा अहिलेलाई वैकल्पिकभन्दा अरु उपाय नभएको बताउँछन् ।
‘पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रको विराटनगर क्षेत्रीय कार्यालयमा आइसकेको छ,’ उनले भने, ‘तर, जारी निषेधाज्ञाका कारण पुस्तक वितरणमा समस्या पर्ने हुँदा केही दिन पर्खने कि भन्ने पनि छ ।’
इलाम नगरपालिकाले पनि पाठ्यपुस्तकका लागि रकम निकासा गर्नुका साथै विद्यालयहरुलाई जेठ मसान्तसम्ममा परीक्षाफल प्रकाशित गरेर असारबाट भर्ना लिन निर्देशन दिएको छ । परीक्षाफल प्रकाशित गरिनसकेका केही विद्यालय त्यसको तयारीमा जुटेको नगरपालिकाको शिक्षा शाखा अधिकृत राधिका घिमिरेले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले भने सिकाइ प्रक्रिया र मूल्यांकन प्रणाली प्रभावकारी बनाउने सम्बन्धमा छलफल गर्न थालेको बताए । ‘अझै केही वर्ष भौतिक उपस्थितिमा पढाउन सकिने अवस्था हुन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘त्यसैले सिकाइ प्रक्रिया र मूल्यांकन प्रणालीबारे बहस थालेका छौं ।’
शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न पाठ्यपुस्तकको लागि सबै सामुदायिक विद्यालयलाई रकम निकासा गरिसकेको र नेपाल टेलिकमको क्लोजर युजर ग्रुप (सियुजी) प्याकेज प्रयोग गर्ने तयारी भइरहेको उनले बताए ।
‘पाठ्यपुस्तक नपाउने समस्या छैन’
यो वर्ष कक्षा २, ३, ६ र १२ मा नयाँ एकीकृत पाठ्यपुस्तक लागू हुँदैछ । गत वर्ष कक्षा १ र ११ मा नयाँ एकीकृत पाठ्यपुस्तक लागू भएको थियो । आगामी वर्षभित्र सबै कक्षामा एकीकृत पाठ्यपुस्तक लागू गर्ने सरकारको योजना छ ।
सरकारले पाँच कक्षाभन्दा माथिको पाठ्यपुस्तक छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । यस्तै कक्षा ४ भन्दा तलको पाठ्यपुस्तक निजी प्रकाशन गृहहरुले छाप्ने भएका छन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अरुणप्रसाद न्यौपानेका अनुसार कक्षा ६ का पाठ्यपुस्तक केही दिनभित्र तयार भइसक्ने अवस्था छ । तयार भइसकेका पाठ्यपुस्तक निषेधाज्ञाको कारण सम्बन्धित स्थानमा पुर्याउन कठिन भइरहेपनि भर्ना अभियान अवधिभित्र पुर्याउने उनको भनाइ छ ।
‘लगभग सबै किताब छापिएर तयार हुन लागेकाले भर्ना अभियानभित्र विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्या छैन,’ महानिर्देशक न्यौपानेले भने, ‘पुस्तक ढुवानीमा मन्त्रालयबाट सहजीकरण भए वितरण अझ प्रभावकारी हुने छ ।’
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले सबै पुस्तक प्रकाशनको काम सकेर बिक्री वितरण सुरु गरेको बताए । ‘निषेधाज्ञा जारी रहेकाले बिक्री वितरणको कामले गति भने लिएको छैन,’ उनले भने, ‘तर समयभित्रै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने अवस्था छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया