एकदिवसीय खेलमा नेपालको ऐतिहासिक जित, नेदरल्यान्ड १ रनले पराजित

विदुर खबर २०७५ साउन १९ गते १:११

काठमाडौं-  एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ। एकदिवसीय मान्यता पाएको साढे चार महिनापछि डेब्यू गरेको नेपालले शुक्रबार एकदिवसीय खेलमा पहिलो जित हात पारेको हो।

नेपालले शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्समाथि १ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्यएको नेदरल्यान्ड्सले  अन्तिम बलमा २ सय १५ रनमा अलआउट भयो।

अन्तिम ओभरमा नेदरल्यान्डलाई जितका लागि ६ रन चाहिएको थियो। अन्तिम ६ बल गर्न नेपालका कप्तान पारस खड्का आएका थिए। सुरुवाती ५ बलमा नेदरल्यान्ड्सले ४ रन लिएपछि जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो। तर अन्तिम बलमा  क्लासनलाई परासले रनआउट गरेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो।

योसँगै २ खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ। यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो।

नेदरल्यान्ड्सका लागि वेस्ले बारेसीले सबैभन्दा बढि ७१ रन जोडे। उनलाई दीपेन्द्रसिंह ऐरीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै डेर ब्राकले ३९, बेन कुपरले १९ र कप्तान पिचर सिलारले २१ रन जोडे।

बलिङमा नेपालका सन्दीप लामिछानेले ३ र ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

स्कोरकार्ड 

त्यसअघि नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २ सय १६ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरे। चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ३१ ओभरको पहिलो बलमा छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए। यद्यपी उनी त्यहि ओभरको अन्तिम बलमा ५१ रन बनाएर आउट हुन पुगे। उनले ६९ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे।

पारसलाई नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले क्याच आउट गराएका थिए।एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा खेलाडी बनेका छन्। यसअघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए।

अाठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४४.४ ओभरमा छक्का अर्धशतक पूरा गरेका थिए। ६१ रनमा आउट हुनुअघि सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। योसँगै उनी एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी बने।

ओपनिङमा आएका सुवास खकुरेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १९-१९ रनको योगदान गरे। सुवासले ३३ बलमा ३ चौका र दीपेन्द्रले १७ बलमा ३ चौका प्रहार गरेका थिए। दीपेन्द्र कप्तान पारससँगको असमझदारीका कारण रनआउट भएका थिए। ओपनर ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकाको मद्दतमा १३ रन प्रहार गरेर आउट भए।

अनिलकुमार साह ४ रन, रोहितकुमार पौडेल ६ रन र बसन्त रेग्मी १ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले ४६ बल खेल्दा १६ रन जोडे। आरिफले बाउन्ड्री भने प्रहार गर्न सकेनन्।

सन्दीप लामिछानेले ८ रन र ललित भण्डारीले  ४ रन बटुले।

बलिङमा नेदरल्यान्ड्सका लागि फ्रेड क्लासनले ३ विकेट लिए।  कप्तान पिटर सीलार र मिचेल रिप्पोनले २-२ विकेट हात पारे।

ब्याटिङ र बलिङ कार्ड 

प्रतिक्रिया