सभामुख महरा सबै दलको साझा हुन नसकेको कांग्रेसको ठहर

विदुर खबर २०७५ साउन १८ गते १४:३७

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाएको छ। कांग्रेसले सभामुख महरा पार्टीगत देखिएको आरोप लगाएको छ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख महरा सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकालेको हो।  मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाइने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफूहरुलाई बोल्न नदिएको कांग्रेसको आरोप छ।

सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। बिहीबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि कांग्रेस सांसदहरुले मन्त्रीसँग प्रश्नोत्तरका लागि माग गरेका थिए। तर, सभामुख महराले मन्त्रीसँग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि कांग्रेस सांसदहरुले बैठक बहिष्कार गरेका थिए।

खाँडले संघीय संसद् नियमावलीको धारा २१९ बमोजिम मन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भए पनि सभामुखले नदिएको आरोप लगाए। संसदीय दलको बैठकमा कांग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल गरेको थियो।

बैठकले मौलिक हकसम्बन्धी कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन पनि सरकारसँग माग गरेको छ। जनताको पक्षमा ऐन बनाउने गरी संविधान बमोजिमको मौलिक हक सम्बन्धी कानुन निर्माणका लागि आवश्यक विधेयक संसद्‌मा तत्काल ल्याउन पनि सरकारसँग माग गरिएको प्रमुख सचेतक खाँडले जानकारी दिए।

अर्का नेता डा मिनेन्द्र रिजालले पनि सभामुखको व्यवहार आपत्तिजनक भएको बताए। ‘प्रश्न गर्न पनि नपाइने भन्ने हुन्छ?’ उनले भने। संविधान बमोजिम आगामी असोज ३ भित्र मौलिक हकसम्बन्धी सबै कानुन निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेस संसदीय दलको बैठक शनिबार २ बजे पुनः बस्नेछ।

Advertisement

प्रतिक्रिया