काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा रोपाइँ सुरु

विदुर खबर २०७८ जेठ २० गते ७:०९

नुवाकोट । कोरोना महामारीकै बीच धान रोपाइँ सुरु भएको छ । पहाडी धेरै जिल्लामा रोपाइँको काम सुरु भएको हो । काठमाण्डौ उपत्यकामा पनि रोपाइँ सुरु भएको छ ।

Advertisement

केही दिन अघि लगातार जसो पानी परेपछि किसानले रोपाइँ सुरु गरेका हुन् । निषेधाज्ञाकै बीच काठमाण्डौ उपत्यकाको मूलपानी, चाँगुनारायणलगायत क्षेत्रका किसानले रोपाइँको काम थालेका हुन् । त्यस्तै जुम्लामा मार्सी धान रोप्न किसानलाई भ्याइनभ्याइ छ । जुम्लामा कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको हो ।

जेठको पहिलो हप्तादेखि नै मार्सी धान रोप्न सुरु भएको थियो । जुम्लाका किसानले चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिकको पहिलो हप्तादेखि भित्र्याउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

Advertisement

खेतबारीको काम गर्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउन विज्ञले आग्रह गरेका छन् । सकेसम्म भौतिक दुरी सहित मास्कको प्रयोग गर्न तथा कम जनशक्तिले काम गर्न नार्क अन्तर्गत बाली तथा बागबानी अनुसन्धान निर्देशक वरिष्ठ वैज्ञानिक रामबहादुर केसीको सुझाव छ ।

बाग्लुङको गलकोट नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ । पानी पर्याप्त भएका ठाउँमा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । खोला आसपास तथा बाह्रैमहिना सिँचाइ पुग्ने क्षेत्रमा रोपाइँको काम थालिएको हो ।

Advertisement

तराई तथा अरु ठाउँमा भने मनसुन सुरु भएपछि धान रोप्न सुरु हुनेछ । यसपालि समयमा नै मनसुन भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया जून १० तारिखमा नेपालमा मनसुन भित्रने गर्छ ।

प्रतिक्रिया