बजेटका विषयमा वाग्मती सरकारले माग्यो आफ्नै सांसदसँग सुझाव

नुवाकोट । वाग्मती प्रदेशको सत्तारुढ नेकपा एमालेले नीति तथा कार्यक्रम र आगामी बजेटको विषयमा आफ्नै दलका सांसदसँग सुझाव मागेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले सुझाव संकलनका लागि माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, पूर्वप्रदेश मन्त्री अरुण नेपाल, उद्योग, पर्यटन वन तथा वातारवरण समिति सभापति रमा आलेमगर, कृष्ण खनाल, नारायण सिलवाल र मुख्य सचेतक दीपक निरौला रहेका छन् । समितिले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा सुझाव दिने सचेतक निरौलाले जानकारी दिए ।
पार्टीको केन्द्रमा देखिएको झगडालाई पन्छाएर प्रदेश सरकारलाई सहयोग गर्ने गरी समिति निर्माण गर्ने विषयमा संसदीय दलमा सबै सहमत भएको निरौलाले जानकारी दिए ।
विपक्षी दलको मोर्चाबन्दी र आफ्नै पार्टीभित्रको विवादका कारण सदनबाट बजेट पास हुने सम्भावना कमजोर रहेका कारण मुख्यमन्त्री डोरमणि पौडेल सांसदहरुलाई सझाउन सक्रिय रहेका छन् । उनले एमाले संसदीय दलको बैठक र सर्वदलीय बैठक राखेर बिनाअवरोध सदन चल्ने वातावरण तयार गर्न पटकपटक आग्रह गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया