मलाई कसैले छुन नहुने रे, शरीरबाट निस्केको रगत कसैले देख्न नहुने रे

विदुर खबर २०७८ जेठ १४ गते १४:१६

मलाई कसैले छुन पनि नहुने रे ! मेरो शरीरबाट बाहिर निस्केको रगत कसैले देख्न पनि नहुने रे ! र, त्यही रगत प्रवाहित नभएमा समाजमा घृणित र अपमानित पनि म नै हुनुपर्ने रे ! हो, म महिनावारी नै भएको ! यतिबेला मैले बार्नुपर्ने ! म अछुतो हुने नियम बनाइदिने पितृसत्तात्मक समाजका अग्रजहरु पनि त्यहि रगतको डल्लोबाट उत्पत्ति भएका हुन् ।

Advertisement

त्यही रगतबाट उत्पत्ति भएको उनीहरू चोखो, पवित्र हुने र समाजको बागडोर सम्हाल्ने तर त्यही रगत शरीरबाट बाहिर निस्कदा चाहिँ अछूत र नछुने हुने । सामाजिक संरचना त्यही अनुसार बन्दै गयो, शुरूमा जे सिकाइयो, त्यसलाई त्यही रूपमा ग्रहण गर्दै आजसम्म हिँडिरहेको छ यो समाज ।

महिनावारीको कुरा त्यति धेरै गर्ने गरेको पाईंदैन । कम मात्र चर्चामा आउने यो विषय हेर्दा सामान्य देखिए तापनि यसलाई गहिरिएर अध्ययन गर्दा यो जटिल, संवेदनशील, महिलामाथिको विभेदको शुरूवात र हिंसाजस्ता कुराहरू यसमा नै जोडिएका छन् । भगवानको पालामा शक्तिशाली भएका महिलाहरूलाई देवीको रूपमा ससम्मान सधैंभरि पूजा गर्न मिल्ने तर तिनै देवीको पूजा गर्नका लागि जो कोहि महिलाचाहिँ महिनामा पाँच दिन अछुत हुनुपर्ने ।

Advertisement

अशिक्षित वर्गमा यो विभेद रहनु सामान्य हुन सक्ला तर शिक्षित र पढेलेखेकाको जमातमा पनि यो सोच रहिरहनुलाई सामान्य रूपमा लिन सकिंदैन । यसमा कहिं न कहिं त्रुटी रहेको छ जसलाई सच्याउनुपर्ने आजको आवश्यकता हो ।

महिलालाई मात्र केन्द्रमा राखेर होइन, सबै लिङ्ग, वर्ग, जात, धर्म र समुदायलाई समेटेर महिनावारीको महत्व र संवेदनशीलतालाई महिलाको स्वास्थ्यसँग जोडेर विद्यालय तहको पाठ्यक्रममा समेत समेटी यस विषयमा जानकारी र जनचेतना जगाउन सकेको खण्डमा न त धर्ममा लेखिएको न कानूनमा तोकिएको यस्तो कुप्रथा हटाउन सकिन्छ भन्ने मेरो ठम्याई रहेको छ ।

Advertisement

आफ्नो शरीरबाट बगेको यो रगतलाई ससम्मान गर्वका साथ स्वीकार गरी आफ्नो पहिचान स्थापित गर्नमा म र मजस्ता पहिचान लुकाउन बाध्य महिलाहरू मर्यादित महिनावारीको विषयमा खुलेर कुरा गर्न र एउटा विकसित स्वस्थ्य समाज निर्माण गर्न सफल हुनेछन् ।

सबैमा मर्यादित महिनावारी दिवसको शुभकामना !

महिनावारी

अञ्जु आचार्य
उपाध्यक्ष, दुप्चेश्वर गाउँपालिका, नुवाकोट ।

प्रतिक्रिया