प्लाष्टिकले छोपेर धरहरा बचाउने जमर्काे

विदुर खबर २०७५ साउन १७ गते १३:४०

काठमाडौँ, तीन वर्षअघिको गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा धरहराको भग्नावशेषमा प्लाष्टिकले छोपी संरक्षण गरिएको छ ।

Advertisement

तीन वर्ष बितिसक्दासम्म पुनः निर्माण गर्ने विषयमा सम्बद्ध निकायले काम शुरु गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मै बनाउँछु मेरो धरहरा नारा दिनुभए पनि यसको पुनः निर्माणकाको काम शुरु हुन सकेको छैन । कहिले पुरातत्व विभागले त कहिले नेपाल टेलिकमले बनाउने भनिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । बुधबार साँझ काठमाडौँ महानगरपालिकाका कावा प्रमुख हरिप्रभा खड्गीले भीमसेनस्तम्भको भग्नावशेषलाई प्लाष्टिकले छोपी संरक्षणको प्रयास गर्नुभयो । “वर्षाको समय छ, धरहरा निर्माणको समयमा प्रयोग भएका माटो, इँटालगायत सम्पूर्ण सामग्री ऐतिहासिक हुन्छन्, पुनःनिर्माण शुरु हुनुअघि बाँकी रहेको संरचनालाई घामपानीको असरबाट जोगाउन प्लाष्टिक ओढाइएको हो”, कावा प्रमुख खड्गीले भन्नुभयो ।


त्यसै क्रममा सम्पदा बचाऔँ अभियानकर्मी पछिल्लो समय कामपाले सम्पदा संरक्षणमा चासो दिन थालेको भन्दै खुशी भएका थिए । अभियानकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले भन्नुभयो, “१९९० सालमा पनि धरहरा भूकम्पका कारण भत्केको थियो, पुर्खाहरुले पहिले जस्तै बनाएर राख्नुभयो । त्यसपछि २०७२ सालमा पनि भूकम्पकै कारण पूर्ण रुपमा क्षति भएको छ, अब पनि ९० सालपछि निर्माण भएजस्तै निर्माण हुनुपर्छ ।”

Advertisement

संविधानको धारा ३२ ले भाषा र संस्कृतिको सम्पदाको संरक्षणका बारेमा उल्लेख गरेअनुसार सम्पदाको पुनःनिर्माण हुनुपर्ने सम्पदाप्रेमीको माग छ । धरहरा १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप निर्माण गर्नुभएको हो । नब्बे सालको भूकम्पले धरहरा भत्किएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नौ तलाको धरहरा निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ । उक्त धरहरा पनि पुनः विसं २०७२ को भूकम्पले पूर्ण नष्ट भएको छ । इँटा, चुन, मास र चाकुको मिश्रणबाट मुगलशैलीमा धरहरा निर्माण भएको हो ।

प्रतिक्रिया