हावाहुरी, वर्षा र हिमपातको सम्भावना

नुवाकोट । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।
सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।
देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।
यो मौसममा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया