प्रतिनिधि सभा विघटनको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनको आह्वान

विदुर खबर २०७८ जेठ ९ गते १२:३१

नुवाकोट । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनले आह्वान गरेका छन्।

Advertisement

सरकार कोरोना संक्रमण नियन्त्रणतर्फ नलागी चुनाव गर्नतिर लागेको भन्दै विद्यार्थी संगठनले यसलाई जनतामाथि गरेको स्वास्थ्य अपराध ठहर गरेका छन्।

‘सर्वोच्च अदालतले पुनर्स्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती हो,’ संयुक्त वक्तव्यमा भनिएको छ।  विघटनले संविधानमाथि प्रहार भएको उल्लेख गर्दै  सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बनेको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

Advertisement

संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिँदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटन भएको विद्यार्थी संगठनको ठहर छ।

कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिई अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो,’ संयुक्त वक्तव्यमा भनिएको छ।

Advertisement

संयुक्त वक्तव्य जारी गर्नेमा नेविसंघका अध्यक्ष राजिव ढुगांना, अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अध्यक्ष अखिल (छैठौ) का विमल पोखरेल छन्।

प्रतिक्रिया