चार दिनमै सकियो मच्छिन्द्रनाथको यात्रा

विदुर खबर २०७८ जेठ ६ गते ७:३४

सुनील महर्जन, ललितपुर । डेढदेखि बढीमा पाँच महिनासम्म लाग्ने रातो मच्छिन्द्रनाथको रथयात्रा यसपटक चार दिनमै सम्पन्न गरिएको छ । कोेरोना महामारीको कारण प्रतीकात्मकरूपमा रथयात्रा चार दिनमै सम्पन्न गरिएको हो ।

Advertisement

१४ सय वर्षको इतिहासमा यति छोटो अवधिमा रथयात्रा सम्पन्न गरिएको सम्भवः यो नै पहिलोपटक हुनुपर्ने अध्येयताहरूको भनाइ रहेको छ । हरेक वर्ष रथयात्रा सम्पन्न हुन कम्तीमा औसत डेढदेखि दुई महिना लाग्ने रातो मच्छिन्द्रनाथको रथयात्रालाई काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथयात्राको रूपमा चिनिन्छ ।

बुधबार बिहान ६ बजेर ५० बजे किसली पूजा र साइत पूजा गरी दिउँसो २ बजेर ५० मिनेट जाँदा पानेजुहरूले मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती लगेका थिए । प्रहरीको कडा सुरक्षा घेराकाबीच देवतालाई करिब पौने दुई घण्टामा बुङमती पु-याइएको थियो । यसअघि गत जेठ १ गते शनिबार रथलाई पुल्चोकबाट डेढ सय मिटर रथ तानेर मण्ड फल्चा (सोह्रखुट्टे पाटी) मा पु-याइएको थियो ।

Advertisement

रथ तानेर पुल्चोक, गाबहाल, सुन्धारा, लगनखेल, इतिटोल हुँदै जावलाखेल पु-याएर भोटो देखाउने परम्परा छ । योसँग नरिवल खसाउने जात्रा, वैष्णदेवीको पूजा, बलि पूजालगायत थुप्रै अमूर्त संस्कृतिहरू पनि चलाउनुपर्ने परम्परा रहेकोमा सांकेतिकरूपमा रथयात्रा गरिएसँंगै ती सबै परम्परा र विधिहरू तोडिएको छ । रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर ल्याउने बेला उक्त रथसँगै टंगलबाट मीमनाथको रथ तानेर मच्छिन्द्रनाथको सामुन्ने राख्नुपर्ने परम्परा पनि यसपटक तोडिएको छ ।

अहिले कोरोना महामारीको बेला एक डेढ महिनासम्म रथयात्रा स्थगन गरी त्यसपछि मात्र रथयात्रासम्बन्धी निर्णय लिन यँग्वाल, बारिही, घकू र पानेजुहले गरेको आग्रहलाई सरोकारवालाले गम्भीरताका साथ नलिएकोमा स्थानीयबासीहरूको असन्तुष्टि छ ।रथ केन्द्रित सुरक्षा योजनागत वर्ष रथ तान्ने बेला भएको झडपलाई ध्यानमा राखेर प्रहरीले रथ तान्ने र बुंगमती लग्ने बेला उच्च सुरक्षा सतर्कता अपनाएको छ । बुधबार ५ सय २५ जना प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रज्वल महर्जनले बताउनुभयो ।

Advertisement

देवतालाई बुङमती लानेसम्बन्धी सुरक्षा प्रबन्ध मंगलबार तयार गरिएको थियो । सुरक्षा चुनौती आँकलन गरी प्रहरीले रथयात्रा केन्द्रित सुरक्षा योजना तयार पारेकोे हो ।महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ राखिएको पुल्चोक आसपासमा मंगलबार करिब ११ बजेदेखि ३ सय ७५ जना प्रहरी परिचालन गरिएको थियो भने टंगलस्थित मीमनाथको रथको वरपर १ सय ५० प्रहरी परिचालन गरिएको थियो ।

रातो मच्छिन्द्रनाथको सुरक्षा कमान्डका लागि भने परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्य स्वयं खटिनुभएको थियो । प्रहरी उपरीक्षक महर्जन रथ वरपर भौतिक दूरी कायम गर्न माइकिङ गरिरहनुभएको थियो ।रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा सरोकारवालाले निर्णय गर्न नसक्दा गत वर्ष भदौ १८ गते बिहीबार स्थानीयले स्वतःस्फूर्त रथ तानेपछि स्थानीय र प्रहरीबीचको झडप निम्तिएको थियो । सोही घटनाबाट पाठ सिकेर प्रहरीले यसपटक १९ जातीय समाज र खलः पुचः का साथै वाराही, यँग्वाल, घकूका साथै पानेजुहरूसँग छुट्टाछुट्टै बैठक बसेर समन्वय र सहजीकरण गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सुरक्षित तरिकाले रथयात्रा सम्पन्न गर्नका लागि सबैसँग समन्वय र सहजीकरण गरिएको जिकिर गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यले रथयात्रा सरोकारवाला सबैको अपनत्व रहने गरी सम्पन्न गरिएको बताउनुभयो ।निषेधाज्ञाको अवधिमा पनि सुरक्षा चुनौतीलाई विश्लेषण गरेर रथ आसपासमा जेठ १ देखि बुधबारसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया