ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

विदुर खबर २०७८ वैशाख २९ गते ८:५३

नुवाकोट । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर आह्वान गरेसँगै राजनीतिक दलहरूको छलफल तीव्र बनेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेसले आफूले नयाँ सरकारको नेतृत्व गर्ने बताएको छ । यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको समूहले साथ दिने भएको छ । सरकार गठनबारे छलफल गर्न सभापति देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको थियो । संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको भए पनि कांग्रेस एमालेको नेपाल समूहले समयमा नै निर्णय नगर्दा उक्त निर्णयबाट पछि हटेको थियो ।

अहिलेकै अवस्थामा नयाँ सरकार गठनका लागि बहुमत पु-याउन १ सय ३६ सांसदको आवश्यकता पर्छ । नेपाल पक्षका सांसदले राजीनामा दिएको अवस्थामा नयाँ सरकार गठन गर्न १ सय २४ सांसद नै पर्याप्त हुनेछन् । नेपाल समूहका सांसदले राजीनामा नदिएर सांसद कायमै रहिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको १ सय २१ जना सांसदको दाबी गर्नुहुनेछ ।

Advertisement

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सिंगो जसपाको साथ मात्रै पनि पर्याप्त छ । जसपाका १५ जना सांसदले मत दिने हो भने देउवा सहजै प्रधानमन्त्री बन्ने अवस्था रहेको छ । उपेन्द्र यादव समूहको समर्थन कायमै रहेर नेपाल पक्षले राजीनामा दिएको अवस्थामा पनि देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था रहेको छ ।नयाँ सरकार गठनका लागि सभापति देउवा र प्रचण्डबीच सिंगो जसपा र नेपाल पक्षलाई साथमा लिएर अगाडि बढ्ने समझदारी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभएको छ । उहाँका अनुसार देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन संवाद भइरहेको छ । तर जसपाका अध्यक्षद्वय यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा रहे पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीकै पक्षमा उभिएपछि जसपा प्रस्ट हुन सकेको छैन ।

संसद्मा यादव नेतृत्वको जसपाले ओलीको विपक्षमा मतदान गरे पनि अर्का अध्यक्ष ठाकुरले वैकल्पिक सरकार गठनमा आफूहरू सहभागी नहुने विज्ञप्ति जारी गरेपछि जसपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष ठाकुरको विज्ञप्तिले तत्काल नयाँ सरकार गठन नहुनेमा प्रधानमन्त्री ओलीलाई ढुक्क बनाएको छ । त्यसैकारण एमालेले अहिलेकै अंक गणितअनुसार नयाँ सरकार गठन हुने सम्भावना नरहेकाले पुनः ओली नै प्रधानमन्त्री हुने दाबी गरेको छ । तर नयाँ सरकार गठनका लागि सिंगो जसपाले देउवालाई साथ नदिएको अवस्थामा नेपाल समूहको भूमिका भने निर्णायक हुनेछ ।

Advertisement

प्रतिक्रिया