त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालनमा,एक करोड रुपैयाँ बराबरको क्षति

विदुर खबर २०७५ साउन १४ गते ५:२२

नुवाकोट ÷आगलागीको कारण उत्पादन रोकिएको करिव तीनहप्तापछि त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।
गत असार २६ गते आगलागी भएर पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्रका प्रमुख तारादत्त भट्टले बताए । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो ।

Advertisement

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको प्रमुख भट्टले जानकारी दिए । आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब एक करोडको रुयैयाँ बराबरको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ ।

Advertisement

 

विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले जानकारी दिए । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन खेर गएको उनले बताए । रासस

Advertisement

प्रतिक्रिया