न्वारनको भोज खाँदा धादिङमा ३५ जना बिरामी परे

विदुर खबर २०७५ साउन १३ गते १५:२०

धादिङ,  गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आज ३५ जना बिरामी परेका छन् । गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट  जानकारी दिनुभयो ।

Advertisement

भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उहाँले जानकारी दिनुभयो । न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए ।

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सुगनका रुपमा जाँड र रक्सीसमेत राखिएको वीरसिं चेपाङले बताउनुभयो । बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिनुुभयो । घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ ।

Advertisement

प्रतिक्रिया