वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

विदुर खबर २०७८ वैशाख ५ गते ८:२९

नुवाकोट । राजधानीलगायत मुलुकका बिभिन्न क्षेत्रमा कोेरोना संक्रमणको ग्राफ बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले शहरी क्षेत्रमा रहेका सबै विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

Advertisement

देशभर कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ भने नयां भेरियन्ट देखा पर्न थालेपछि सीसीएमसीको बैठकले विद्यालय बन्द गर्न सिफारिस गरेको हो । बैठकले कोरोना संक्रमण बढेका अन्य क्षेत्रमा प्रदेश र स्थानीय सरकारलाई आवश्यकताअनुसार कदम चाल्न निर्देशन दिएको छ । भारतबाट नेपाल आउने नेपालीमा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले सीमा क्षेत्रमा समेत कडाइ गर्न समेत बैठकले निर्देशन दिएको छ ।

अहिले नेपाल प्रवेश गर्ने मुख्य नाकाका जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यस क्षेत्रका अस्पतालहरु भरिभराउन हुन थालेपछि यसअघि सञ्चालनमा आएर बन्द गरिएको कोभिड अस्पताल पुनः सुचारु गर्न पनि बैठकले आग्रह गरेको बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

Advertisement

शहरी क्षेत्रमा रहेका विद्यालयमा पछिल्लो समय शिक्षक तथा विद्यार्थीमा समेत कोरोना संक्रमण देखिएपछि सीसीएमसीले विद्यालय बन्द गर्न निर्देशन दिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । बैठकमा मुलुकको अवस्था बिग्रदै गएकाले मुलुकभर लकडाउन नै गर्नुपर्ने आवाज उठे पनि अहिले लकडाउन गर्न नसकिने निष्कर्ष बैठकले निकालेको बताइएको छ ।

अहिले बढी रहेको कोरोना संक्रमणको अवस्था यही गतिमा बढ्ने हो भने दैनिक ११ हजारभन्दा बढी नेपाली संक्रमित हुने प्रक्षेपण गरिएको छ ।

Advertisement

प्रतिक्रिया