संसद पुनर्स्थापना भएन भने चुनाव हुन्छ : देउवा

विदुर खबर २०७७ फागुन ७ गते १८:१०

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देउवाले सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

Advertisement

शुक्रबार नुवाकोटमा पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले भने, ‘पुनर्स्थापनाको निर्णय गर्छ भने सहर्ष स्वीकार गरौं । चुनाव भन्छ भन्यो भने चुनावमा जाऊँ ।’

नेकपाको दुबै समूहले चुनावको तयारी गरिसकेको र चुनाव चिह्नका लागि लडिरहेको उनले बताए । ‘हाम्रा नेताहरु चुनाव हुँदै हुँदैन भन्छन्’ उनले भने, हद हुन्छ नि एउटा । भयो भने नि ? त्यसको तयारी गर्नुपर्दैन ? चुनावाबाट भाग्ने ?’

Advertisement

संविधानअनुसार प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने र नगराए सबै मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्ने समेत देउवाले बताए । उनले अघि भने, ‘संसद पुनर्स्थापना भएन भने चुनाव भयो, भयो ।’

अहिले नभए पनि डेढ वर्षपछि चुनाव हुने भन्दै उनले चुनावबाट नडराउन नेताहरुलाई आग्रह गरे । ‘कि राजनीति छोड्नुपर्‍यो कि चुनावमा जान तयार हुनुपर्‍यो’ उनले भने, ‘चुनावका लागि तयार हुनुस्, डेढ वर्षपछि होस् कि अहिले होस् ।’

Advertisement

सबैले संविधान मिचेका छन्

नेपालमा सबैले संविधान मिचेको देउवाले बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भने नेपालमा संविधान नमिच्ने कोही नभएको बताएका छन् ।

‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्’ कांग्रेस सभापति देउवाले भने, सबैले मिचेका छन्, नेपालमा (संविधान) नमिच्ने कोही छैनन् ।’

प्रतिक्रिया