सर्वोच्चमा प्रधानमन्त्रीविरुद्ध दुई मुद्दा दायर

विदुर खबर २०७७ माघ १४ गते ८:१८

नुवाकोट । अदालतको अवहेलना गरेको आरोप लगाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै मुद्दा दायर भएका छन् ।वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेद्वारा दायर गरिएको मुद्दामा प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी जथाभावी बोल्दै हिँड्नुभएको उल्लेख गर्दै उहाँमाथि अवहेलनामा कारबाही गर्नुपर्ने माग गरिएको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले केही दिनअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले इजलासमा गरेको बहसलाई टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यस्तो खालको टिप्पणीले अदालतकै मानमर्दन भएको उल्लेख गर्दै उहाँलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग पनि मुद्दामा गरिएको छ ।

अधिवक्ता न्यौपानेद्वारा दायर गरिएको मुद्दामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्दै हिँड्नुले अदालतको अवहेलना हुने गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा भाषण गर्दा प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन भन्दै निर्वाचनमा लाग्न आह्वान गर्ने गर्नुभएको छ ।

Advertisement

प्रधानमन्त्रीको यस्तो कार्यले अदालतमा विचाराधीन अवस्थामा रहेका रिट निवेदनलाई प्रभावित गर्ने भएकाले उहाँद्वारा अदालतको अवहेलना भएको मुद्दामा दाबी गरिएको छ । मुद्दामा कानुन व्यवसायीलाई होच्याएर आफ्नो भनाइ राख्दा न्यायपालिकाको नै अवहेलना हुने गरेको उल्लेख गरिएको छ । कानुन व्यवसायी भनेका अदालतको अधिकृत हुने उल्लेख गर्दै मुद्दामा एक जना कानुन व्यवसायीलाई होच्याएर बोल्दा समष्टिमा सम्पूर्ण कानुन व्यवसायीको अपमान हुने स्पष्ट गरिएको छ ।

 

Advertisement

प्रतिक्रिया