बिहेको अघिल्लो दिनदेखि बेपत्ता दुलाह भारतमा घुम्दै
विदुर खबर
२०७४ फागुन ४ गते १२:१४
नवलपरासी — विवाह लगनको अघिल्लो दिनबाट बेपत्ता भनिएका दुलाह भारतको विभिन्न सहरमा घुम्दै गरेको अवस्थामा भेटिएको छ । गत माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोटका बालकृष्ण खरेल बिहेको अघिल्लो राति १२ बजेदेखि घरबाट बेपत्ता भएका थिए ।
घर नजिकैकी युवतीसँग विहेको टुंगो लागेका खरेल जन्ती हिड्नुभन्दा १२ घण्टाअघिबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि सिंगो गाउँ नै दुलाह खोज्ने तनावमा थियो । मोबाइल अफ गरिएको र घरीघरी फेसबुक चलेको आधारमा उनको खोजी भइरहेको थियो ।
फेसबुक चलेको आधारमा प्रहरीले उनको लोकेसन भारतको दिल्ली र हैदरावाद आसपास देखेको थियो । बेहुलाको अपहरण भएको आशंकामा प्रहरी प्रधान कार्यालयको (सीआईबी) केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली बेहुलाका दुलाह खोज्न दिल्ली पुगेको थियो । दिल्लीबाट गोरखपुरमा उनको लोकेसन देखिएपछि पछ्याउँदै गएको टोलीले दुलाह गोरखपुरको रेल्वे स्टेसननजिक सुन्दर गेस्ट हाउसमा माघ २४ गतेदेखि २८ गतेसम्म बसेको प्रमाण भेटिएको छ । होटलमा उनले दिएको परिचयपत्र र सीसीटीभीमा देखिएको फुटेजका आधारमा उनी त्यो होटलमा एक्लै बसेको देखिन्छ । प्रहरीले उनी बसेको होटल पत्ता लगाउनुभन्दा १२ घण्टा अगावै होटल छोडेर हिँडेको भेटेको हो । उनले होटलमा काम गर्नेहरुसँग आफूले विवाह छोडेर हिँडेको र अब दिल्लीतिर घुम्न जाने बताउने गरेका थिए । ती सबै प्रमाणका आधारमा उनी अपहरणमा नपरेको र आफैं हिँडेको पुष्टि भएको भन्दै नखोज्ने निधो गरेको छ ।
अपहरणमा परेको आशंकाका आधारमा प्रहरीले दुलाहका माइला दाइ गुरुप्रसाद खरेललाई सँगै लिएर भाइको खोजीमा हिँडेको थियो । उनी बेपत्ता भएपछि तनावमा रहेका घरपरिवार र केटीतर्फका आफन्तले उनलाई कसैले अपहरण गरेको हुन सक्ने भन्दै प्रशासन घेराउ र प्रहरीलाई खोजी गरिदिन दबाब दिँदै आएका थिए । दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पूरा भएको थियो । दुलही पक्षकाले बिहेको अघिल्लो दिन नै ११ लाख मूल्यको दाइजो केटाको घरमा लगेर सजाईदिएका थिए । दुवैतर्फ परपाहुना आउने बधाई दिनेक्रम बाक्लिँदै थियो । बिहान विस्तरामा बेहुला नदेखेपछि कतै निस्केको लख काटेकाहरु दिनभरि बेहुला नआएपछि छट्पटिएका थिए । त्यसपछि उनको खोजीमा सिंगो गाउनै लागेको थियो । कसैले हत्या गरेको होकि भन्ने आंशकामा दुवै पक्षकाले जंगल-जंगल चाहारेका थिए ।
यस्तो थियो कहानी
विगत नौ वर्षसम्म स्पेनलगायत देशमा बस्दै आएका बालकृष्ण गत मंसिरमा बिहेका लागि घर आएका थिए । गत माघ दोस्रो साता गाउँकै छिमेकी एक केटीसँग उनको बिहेको टुंगो लागेको थियो । दुबै पक्षका बसेर माघ २२ गते बिहे गर्ने लगन तोकेका थिए । ‘विवाहको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौं, १२ बजेपछि हामी सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएनन् । कतै निस्केका होलान् आइहाल्छन भनेर सबै तयारी गर्यौं, जन्तीहरु आउने क्रम सुरु भयो तर भाइ आएनन्’ बेहुलाका दाजु गणेश खरेलले भने, ‘त्यसपछि सबै आत्तिएर खोज्न थाल्यौ, अहिले बुझ्दै जाँदा त भारतमा घुमेको घुम्यै छ ।’ जिउँदो रहेको र अपहरणमा नपरेको पुष्टि भएपछि खोज्न छोडिएको उनले बताए ।
प्रहरीका अनुसार माघ २१ गते राति ११:३७ देखि ११:५७ सम्म लगातार बेहुलीको मोबाइलमा फोन गरेको देखिन्छ । त्यसबाहेक उनको नम्बर अफ गरिएको छ । फेसबुक सक्रिय देखिएपछि परिवारले विभिन्न प्रश्न सोध्दा उत्तर आउँदैन्थ्यो । एकैपटक अघिल्लो बिहीबार राति ११ बजेर ३९ मिनेट जाँदा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएपछि परिवारजनहरु थप आतंकित र त्रसित भएका थिए । त्यसको अघिल्लो दिन ११:३९ बजे उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा बोलेर बालकृष्ण नही है भन्ने आवाज आएको र त्यसपछि फोन राखेको परिवारजनले बताएका थिए ।
परिवारमा ३ दाजुभाइमध्ये बालकृष्ट कान्छा हुन् । कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उनी ९ वर्ष अघि विदेसिएका हुन् । पछिल्लो पटक स्पेनको होटलमा काम गर्दै रहेका बालकृष्ण ९ वर्षपछि पहिलो पटक विवाह गर्न भन्दै घर आएका हुन् ।
गाउँलेहरुले केटीपक्षले बिहेको तयारीमा गरेको सबै खर्च केटापक्षले तिर्नुपर्ने र केटालाई जेल हाल्नु पर्ने माग गरेका छन् । पूर्वी नवलपरासीका एसपी दीपेन्द्र जिसीले केटो जिउँदो र भारतमा मोज गर्दै हिँडेको प्रमाण भेटिएपछि उस्को स्पेन जाउआउ गर्ने पासपोर्ट नियन्त्रणमा लिइएको जानकारी दिए । ‘आएपछि कानुनअनुसार कारबाही हुन्छ’ एसपी जिसीले भने झुक्याएको र ढाँटेको आधारमा उनिविरुद्ध मुद्दा दायर गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले खोजतलास सुरु गरेको समाचार कान्तिपुरमा छापिएको थाहा पाएपछि उस्ले आफ्नो दाजुलाई फोन गरेर पासपोर्ट दिल्ली पठाइदिन आग्रह गरेका थिए । उस्ले गत मंगलबार बिहे गर्ने निधो भएकी केटीलाई पठाइदिनु भन्दै आफ्नो एक साथीलाई म्यासेन्जरमा खबर पठाएको समेत प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
kantipur
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया