प्याकेजमै सहमतिपछि मात्रै सरकारमा : दाहाल

विदुर खबर २०७४ फागुन ४ गते १२:१३

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषय टुंगिनसकेकाले आफ्नो पार्टीले कसैलाई मन्त्रिमण्डलमा नपठाएको प्रस्ट पारेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटनपछि सम्बोधन गर्दै दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुंग्याउन बाँकी रहेको बताए । उनले नयाँ सरकारले गर्ने कामको प्राथमिकता, नियुक्तिसम्बन्धमा प्याकेजमै सहमति गर्ने प्रयास भइरहेको पनि बताए ।
एमाले-माओवादीबीच निरन्तर छलफल चलिरहेकोले एक/दुई दिनभित्र सहमति हुने उनले विश्वास व्यक्त गरे । ‘पहिलो मन्त्रिपरिषद् गठनमा हाम्रा कुनै मन्त्री नगएपछि प्रश्न उठ्यो, बुधबार साँझ सबै विषयमा पूर्ण छलफल हुन नसकेकोले सहभागी नभएका हौं,’ उनले भने, ‘यसमा केही दिनमै प्याकेजमै सहमति भएपछि सरकारमा जान्छौं ।’ पार्टी एकता भाँडिने हो कि भन्ने आशंका बढिरहेको बेला दाहालले एमाले-मा‌ओवादीबीच ठूलो विवाद नरहेको दाबी पनि गरे ।
माओवादी केन्द्रको समर्थनमा बिहीबार एमाले अध्यक्ष केपी ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले कुनै मन्त्रीको नाम नदिएपछि नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार आफ्नो पार्टीबाट दुई जनालाई मात्र मन्त्री बनाएका थिए । एमालेबाट लालबावु पण्डित जनसंख्या तथा वातावरण र थममाया थापामगर महिला तथा बालबालिका मन्त्री बनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नयाँ सरकारले हिजोको कमजोर सरकारले गर्न नसकेको काम गरेर देखाउन सक्नुपर्नेमा जोड दिए । त्यसमा शिक्षक, बुद्धिजीवीसहित सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको सरकारले शिक्षकका समस्यालाई मध्यनजर गरेर गुणात्मक काम गर्ने आश्वासन पनि दिए ।
Advertisement

प्रतिक्रिया