एक महिनाभित्र फोहोर व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

विदुर खबर २०७७ कार्तिक १६ गते ७:३८
नुवाकोट । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बन्चरेडाँडा ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनै पनि वहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभएको हो । हाल फोहोर बिर्सजन भइरहेको सिसडोल ल्यान्डफिल साइटको निरीक्षण गरेपछि उहाँ बन्चरे ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएको थियो ।

पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बन्चरे ल्यान्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्ने गरी काम सक्न कडा निर्देशन दिनुभएको थियो ।

Advertisement

लुम्बिनी–कोशी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्ने गरी अन्तिम काम भइरहेको जानकारी गराउनुभएको थियो । ‘तपाईंले धेरैपटक भाका फेरिसक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्ने गरी तयारी गर्नुस्।’ –प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो ।

काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइरहेको छ । ‘हामी मंसिर १ गतेभित्र फोहोर फ्याँक्ने गरी तयारी गरेका छौं।’ –निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भन्नुभयो ।

Advertisement

प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्ने गरी ल्यान्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात् बन्चरेडाँडा पुग्नुभएको थियो ।

मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीको टोली निरीक्षण गर्न पुगेका थिए ।

Advertisement

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि तत्काल बन्चरे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । सरकारको महत्वपूर्ण आयोजनाका रुपमा रहेको सो ल्यान्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण नगरी बिसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब १ सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो । सरकारले विभागलाई ल्यान्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।

महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठलाई ल्यान्डफिल साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न पुग्नुभएका महानिर्देशक गेलालले अहिलेसम्म ल्यान्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

‘अब फोहोर बिसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्रीज्यूले भनेकै समयमा फोहोर बिसर्जन गर्नेछांै।’ –महानिर्देशक गेलालले भन्नुभयो ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण भएको यो विषयमा सबै गम्भीर हुनुपर्ने बताउँदै अब तोकिएकै समयमा फोहोर बिर्सजन गर्न ढिलाइ गर्न नहुने निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘यो बोली सरकारको हो, अब मंसिर १५ भित्र जसरी पनि बन्चरे ल्यान्डफिल साइटमा फोहोर बिसर्जन हुनैपर्छ ।’ यसअघि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बन्चरेडाँडा ल्यान्डफिल साइटको प्रगतिबारे जानकारी लिन पुग्नुभएको थियो ।

सचिव डा. सिंहले मन्त्रीको निर्देशनअनुसार तोकिएको समयमा फोहोर व्यवस्थापन हुने बताउनुभयो । विभागले हालसम्म करिब ४० करोड रुपियाँ खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणका लागि ४६ करोड ५ लाख ९४ हजार रुपियाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता वैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कात्तिक २२ गतेसम्मको म्याद थपेको थियो ।

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९को स्वास्थ्यजन्य समस्याको कारणले कामदार र निर्माण सामग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको र कोल्पुखोलामा वर्षात्मा बाढी आएर निर्माणकार्यमा प्रभावित भएको जनाएको छ ।

१३ वर्षदेखि  सिसडोल ल्यान्डफिल साइटको भ्याली १ र २  फोहोर बिसर्जन भइरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर बिसर्जन भइरहेको छ ।

विसं २०६२ सालमा २ वर्षका लागि मात्रै फोहोर व्यवस्थापन गर्न मिल्ले गरी सिसडोल ल्यान्डफिल साइट तयार गरिएको थियो । लगत्तै दीर्घकालीनरुपमा फोहोर व्यवस्थापन बन्चरेडाँडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्यान्डफिलसाइट हस्तान्तरण गरेपछि बन्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशक अघि बन्चरेडाँडाको ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया