शहरमा छैनन् ‘डेटिङ स्पट’, भीरपाखा चाहार्दै प्रेम जोडी

विदुर खबर २०७४ फागुन ३ गते १५:२९

हरिवंश आचार्यले गाएजस्तै हविगत छ, प्रेमजोडीको । सार्वजनिक बसको लास्ट सिटमा मायालु जोडी प्रेममा लिप्त भेटिन्छन् । कतिचाहीं सडक किनारमा बाइक राखेर उन्मुक्त माया साटिरहेका हुन्छन् । देख्नेहरु भन्छन्, ‘छया् कस्तो छाडा केटाकेटी, कस्तो उच्छृंखल ?’

Advertisement

यसो भन्नेलाई के थाहा, प्रेम अब उनीहरुको पालाको जस्तो रहेन भनेर । आँखीझ्यालबाट डराई-डराई चियाएर पल्लोघरको कौसीमा घाम तापिरहेकी मायालुलाई खुसुक्क हेरेर मनमनै रमाउने जमाना उहिल्यै गइसक्यो । र, आइसक्यो जमाना, साइबर लभको । आइसक्यो, जमानामा च्याटिङ र डेटिङको ।

तैपनि, नव-यौवनाबीचको लभ, रोमान्स र डेटिङलाई समाजले अझै पचाउन सकेको छैन । खुल्लमखुला प्रेम गर्नु, माया पोख्नु र रोमान्स गर्नुलाई ‘छाडापन’को संज्ञा दिइन्छ ।

Advertisement

हरेकले यौवनकालबाट गुजि्रनुपर्छ र प्रेमको अनुभवबाटै गुजि्रनुपर्छ । प्रेमका महान व्याख्याता ओशो (आचार्य रजनीश)ले भनेका छन्, ‘समस्त जीवनको केन्द्रमा एकै प्यास छ । त्यो हो प्रेम ।’ प्रेमलाई उनले चेतनाको एक अवस्था मानेका छन् । भनेका छन्, ‘प्रेम स्टेट अफ माइन्ड हो । स्टेट अफ कन्ससनेस हो ।’ हामीचाहीं भन्छौं, ‘प्रेम छाडापन हो ।’

प्रेमप्रतिको बुझाइ र सोचाइ नै कमसल भएर होला, हामीकहाँ प्रेम साट्ने ठाउँ छैन । अर्थात्, डेटिङ डेस्टिनेसन । कस्तो विडम्बना, शहरमा सृष्टीको अनुपम वरदान प्रेम साट्ने ठाउँ नै छैन ।

Advertisement

एक पटक काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले डेटिङ स्पटको परिकल्पना गरेका थिए । उनले नागार्जुनको जंगललाई ‘लभर्स पार्क’ बनाउने, सुन्धारामा धरहरा आसपासको क्षेत्रमा नाइट क्लब र डेटिङ स्पट बनाउने योजना चुहाएका थिए ।

प्रेमिल जोडीहरु प्रेममा उन्मुक्त बहकिने यस्ता अन्य केही स्थानको खोजीमा पनि थिए । तर, धेरैले उनको कुरा पत्याएनन् । नपत्याएका मात्र होइनन्, हावामा उडाइदिए ।

हरिया बगैंचा । रुखका बुट्याउनहरु । हावामा बयेली खेलिरहेका फूलहरु । कलकल पानीमा पौडिरहेका माछाहरु । भुर्र-भुर्र उडिरहेका चराहरु । अनि, बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु ।

संभवत स्थापितको दिमागमा यस्तै ‘डेटिङ स्पट’ फुरेको थियो । तत्कालीन काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्तको हैसियतमा उनले देखेको त्यो सपनाले मूर्त रुप पाएन ।

साँघुरिदै माया साट्ने ठाउँ

केही वर्षअघि राजधानीका मन्दिर परिसरबाट दर्जनौं जोडी समातिए । पशुपतिनाथलगायत मन्दिरआसपास लुकीछिपी प्रेम साटिरहेका जोडी प्रहरीको फन्दामा परे । त्यो पनि ‘भ्यालेन्टाइन डे’मै ।

जसै प्रेम जोडी मन्दिरबाट समातिए, त्यसको पक्ष र विपक्षमा बहस चर्कियो । कतिले त्यसलाई ‘अपराध’ भनी सदर गरिदिए । कतिले उन्मुक्त प्रेममा हस्तक्षेप भएको टिप्पणी गरे । जे भए पनि त्यो डेटिङ डेस्टिनेसन अभावले जन्माएको समस्या थियो ।

हो, धेरै जोडीले अहिले मन्दिर परिसरलाई डेटिङ स्पट बनाएका छन् । दुनियाँको आँखा छल्दै उनीहरु मन्दिरको आडमा बसेर प्रेममा लिप्त भइरहेका हुन्छन् ।

कतिका लागि सिनेमा घर पनि डेटिङ डेस्टिनेसन बनेको छ । फिल्म हेर्ने बहानामा हल पुगेका उनीहरु आपसमा प्रेम साट्न हतारिरहेका हुन्छन् । साझा बस, मन्दिर, सिनेमाघरदेखि कफी सपसम्म प्रेमिल जोडीले आफ्नो अड्डा बनाउँदै आएका छन् । तर, बाग्लो चहलपहल हुने, कोलाहाल र भीडभाडमा जिन्दगीका मिठा-मिठा बात मार्ने कसरी ?

राजधानीमा केही स्थान छन्, जसलाई प्रेम जोडीले आफ्नो कब्जामा राखेका छन् । यद्यपि, त्यहाँ पनि उनीहरु सुरक्षित र उन्मुक्त भने छैनन् । बेलाबखत उनीहरुमाथि प्रहरीको दृष्टि परिहाल्छ ।

प्रेम जोडीहरु यस्तो ठाउँको खोजीमा हुन्छन्, जहाँ निस्फिक्री प्रेम साट्न पाइयोस् । कुनै बाधा अड्चन नहोस् । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न पाइयोस् ।

तर, शहरको भीडभाड, अस्तव्यस्त चहलपहल, कोलाहाल, धुवाँ-धूलो र चर्को ध्वनीले प्रेम जोडीको एकान्त भंग गरिदिएको छ ।

राजधानीको मध्यतिर एउटा पार्क छ । प्रदर्शनी मार्गसँगै जोडिएको उक्त पार्कमा प्रेम जोडी पुग्ने गर्छन् । महाराजगञ्ज नजिकैको शंखपार्क, केशरमहलको गार्डेन अफ डि्रम -स्वप्न बगैंचा), यूएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैंचा, गोदावरीजस्ता केही स्टेसन छन्, जहाँ प्रेम साट्नेहरु पुग्ने गर्छन् ।

केशरमहल हुँदै ठमेल प्रवेश गर्ने मोडबाट बायाँ मोडिएपछि भेटिन्छ, गार्डेन अफ डि्रम्स । करिब एक शताब्दीअघि केशरसमशेरले निर्माण गरेको स्वप्न बगैंचा राजधानीका प्रेमजोडीले खोजेजस्तै डेटिङ डेस्टिनेसन हो ।

बगैंचामा हरिया चौर, फूलहरु, स-साना बुट्याउनहरु छन् । कृत्रिम पोखरीमा रंगबिरंगी माछाहरु सल्बलाइरहेको देखिन्छ । ठाउँ-ठाउँमा चौतारो । बिहान १० देखि राति १० बजेसम्म खुला हुने यो बगैंचामा प्रवेशका लागि भने शुल्क तिर्नुपर्छ, प्रतिव्यक्ति सय रुपैयाँ ।

राजधानीमा अरु थुप्रै पार्क छन् । यद्यपि, ती पार्कहरु व्यवस्थित र सुरक्षित छैनन् ।

OnlineKhabar

प्रतिक्रिया