नेकपा बेलकोटगढीको एकीकरण,सपथ ग्रहण सम्पन्न

विदुर खबर २०७७ भदौ ३० गते १७:०१

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिकाको नेकपा प्रमुखमा प्रेम तामाङ चयन भएका  छन् ।

जिल्लाको नेकपा एकता कार्यदलले तामाङलाई अध्यक्ष र नवराज तिवारीलाई सचिव तोकेको छ । तामाङ पूर्व माओवादी हुन् भने तिवारी पूर्व एमाले हुन् । एकता कार्यदलको सिफारिसमा नेकपाको ९३ सदस्यीय नगर कार्यसमिति बनेको छ ।

नेकपा एकता टुंग्याउने क्रममा बेलकोटगढीको कमिटिले पूर्णता पाएसँगै नयाँ पदाधिकारी र सदस्यहरुले मंगलबार शपथ लिएका छन् । बेलकोटगढि ८ जिलिंगमा आयोजित कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं पूर्व माओवादी नेतृ विमला सुवेदी प्रमुख अतिथिका रुपमा सहभागी भइन् । कार्यक्रममा नुवाकोट २ का संघीय सांसद नारायण खतिवडा, बागमती प्रदेश नेकपाका प्रमुख सचेतक प्रदेश सचिवालय सदस्य केशव पाण्डे, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, प्रदेश सांसद बद्रि मैनाली, पूर्व सांसद राजेन्द्र लोहनी लगायत नेताले बोलेका थिए ।

नेकपाको एकता कार्यदलले सिफारिस गरेका आधारमा हाल देशैभर पूर्व दुईपार्टीको छु्ट्टा छुट्टै कार्यसमिमिहरुको एकता भइरहेको छ । महाधिवेशनसम्म तदर्थ कमिटिका रुपमा इकाइहरुले काम गर्ने जनाइएको छ । नेकपाभित्र एकता महाधिवेशनले विषय प्रवेश पाएपनि तत्काल हुने छाँट देखिएको छैन ।

प्रतिक्रिया