कोरोना निको भएकाले प्लाज्माथेरापीको लागि रक्तदान शुरु गरे

विदुर खबर २०७७ भदौ २६ गते १३:३१

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ ।

Advertisement

बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गर्नुभयो । कोरोना संक्रमण निको हुनुभएका तनहँु घर भई हाल काठमाडौं बस्दै आउनुभएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भन्नुभयो, “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर रक्तदान गर्न आएको हुँ ।”

नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताउनुभयो ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता सम्पन्न भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्राविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

Advertisement

रेडक्रसको समन्वयनमा प्लाज्मा दान गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ ।

प्रतिक्रिया