कोरोनाले ठप्प पढाइ असोजदेखि शुरु हुने

विदुर खबर २०७७ भदौ २१ गते १०:१६

नुवाकोट । पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्देशिका दुई दिनभित्र सार्वजनिक हुनेछ । प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि मन्त्री पोखरेलले निर्देशिका तयार गर्न लाग्नुभएको हो ।

मन्त्रालय स्रोतका अनुसार सम्भवतः मंगलबारभित्र निर्देशिका जारी गरी असोजबाट पठनपाठन शुरु गर्न देशैभरका विद्यालयलाई निर्देशन दिनुहुने सम्भावना रहेको छ । निर्देशिकामा विद्यार्थी भर्ना गरी शैक्षिक तथ्यांक तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई समायोजन गरी करिब ७० प्रतिशत मात्र पढाउने व्यवस्था गर्नेछ । निर्देशिकामा पाठ्यक्रम विकास केन्द्रले पाठ्यभार समायोजन गर्ने विषय उल्लेख छ ।

Advertisement

शिक्षामन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी निर्देशिका सार्वजनिक गरी वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिने बताउनुभएको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्देशिका जारी भएपछि सबै विद्यालयले अनिवार्यरुपमा पठनपाठन शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सम्भवतः असोज महिनाभित्र निर्देशिकाअनुसार पढाइ शुरु गर्नुपर्नेछ ।’

केही विद्यालयबाहेकका शिक्षकले करिब चार महिना घरमै बसेर तलब खाएका थिए, अब वैकल्पिक विधिबाट पढाइ शुरु गर्नुपर्ने भएपछि विद्यालय भएको जिल्लामा पुग्नुपर्नेछ । मन्त्री पोखरेलले बाहिर जिल्लाबाट विद्यालय पुग्ने शिक्षकले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । सूचना र प्रविधिसँग टाढा भएका शिक्षकलाई वैकल्पिक कक्षाले प्रविधिसँग नजिक बनाउने मन्त्री पोखरेलको भनाइ छ ।

Advertisement

प्रतिक्रिया