कोरोनाले बन्द होटल खुले तर छैन व्यापार

विदुर खबर २०७७ साउन १९ गते १७:११

विदुर । लकडाउनका कारण बन्द होटल सं‌चालनका लागि चार महिनापछि खुला गरिए पनि यतिबेला संचालक आफैं र केही कर्मचारीबाहेक खुलेका कुनै पनि होटलमा नयाँ ग्राहक देखिएका छैनन् ।

Advertisement

ठूला होटलको व्यवसाय अन्तर्राष्ट्रिय हवाई सम्पर्क र पर्यटक आवागमनसँग पनि प्रत्यक्ष जोडिने भएकाले चार महिना चार दिनपछि (१५ साउनबाट) खुला गरिएका होटल पर्यटक शून्य हुँदा सरसफाईका लागि मात्र खोलिएजस्तो भएका हुन् । गत साताबाट खुल्न थालेका होटलहरुमा यतिबेला व्यवसायी र आंशिक कर्मचारीको मात्र चहलपहल रहेको पाइएको छ।

यसका बाबजुद भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारले निर्णय गरेकाले व्यवसाय लयमा पुनः फर्कन शुरु हुने अपेक्षा होटल संचालकहरुको छ । यसलाई नै दृष्टिगत गर्दै व्यवसायीहरुले अहिले स्वास्थ्य सुरक्षा उपायहरु अपनाएर होटल संचालकको अभ्यास गरिरहेको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहको भनाइ छ।  ‘महिनौंदेखि बन्द रहेका अधिकांश होटलहरुलाई यो बेला सरसफाई र मर्मत सम्भारसँगै कोभिड-१९ विरुद्ध स्वास्थ्य सुरक्षा उपाय अपनाउने अभ्यासका लागि अवसर हो,’ शाहले भने, ‘तत्काल ग्राहक नआएपनि अहिले आफ्ना स्टाफलाई स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै होटल संचालनको तालिम दिन शुरु गरिसकिएको छ।’

Advertisement

संचालन खुला गरिएसँगै होटल क्षेत्रले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बनमा क्रियाशील हुँदा विश्वमा नेपाली पर्यटनबारे सकारात्मक र प्रभावकारी सन्देश जाने उनको विश्वास छ ।    १५ साउनबाट पोखराका पनि अधिका‌ंश होटल खुला गरिएका छन् । तर तिनमा पनि तत्काल ग्राहकबाट कुनै पनि बुकिङ नआएको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। आन्तरिक र अन्तर्राष्ट्रिय उडानसँगै सडक यातायात समेत शुरु भएपछि भदौको दोस्रो साताबाट पोखराका होटल व्यवसायले गति लिने अनुमान गरिएको तुलाचनले बताए ।

‘अहिले तत्कालका लागि बुकिङ नआए पनि असोजदेखिका लागि फाट्टफुट्ट बुकिङ र इन्क्वेरी आउन थालेको छ। तर पछिल्लो समय कोरोना संक्रमण फेरि  बढ्न थालेको देखिएकाले हामी पर्ख र हेरकै अवस्थामा छौं,’ उनले भने, ‘यद्यपि, अहिले अवस्था सामान्य हुँदै गएपछिका लागि तयारीमा जुटेका छौं । सरसफाई, कोभिडबीच होटल संचालनको तौरतरिकाका लागि कर्मचारी तालिम लगायतमा केन्द्रित छौं।’ नेपालको अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहामा भने यतिखेर आन्तरिक पर्यटकको सामान्य चहलपहल सुरु भएको स्थानीय व्यवसायीहरुको भनाइ छ। तैपनि, होटलमा बास बस्ने गरी भने पर्यटक आइनसकेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले बताए।

Advertisement

‘सौराहा खुल्यो भन्ने सन्देश पाएसँगै दिउँसोको समयमा सौराहामा चितवन वरपरका सर्वसाधरणहरुको छिटफुट चहलपहल हुन थालेको छ। तर राष्ट्रिय निकुञ्ज खुला नभइ पर्यटक आउने सम्भावना कम रहेको छ,’ उनले भने । चितवन राष्ट्रिय निकुञ्जले अझै टिकट बुकिङ नखुलाएकाले यसप्रति आन्तरिक पर्यटकले गुनासो गरिरहेका छन् ।  सौराहाका होटलहरुमा पनि यतिबेला मर्मतसम्भार, सरसफाई, कोभिडसम्‍बन्धी स्वास्थ्य सुरक्षा अवलम्बन  अभ्यास लगायतको तयारी भइरहेको भट्टराईले बताए। तराई क्षेत्रमा कोभिड-१९ संक्रमण बढ्दै गएका कारण विराटनगर, नेपागञ्ज, भैरहवा लगायतका स्थानहरुमा  रहेका होटलहरुमा ग्राहक आउने सम्भावना तत्काल शून्य रहेको होटल व्यवसायीको भनाइ छ ।

कोभिड-१९का कारण पछिल्लो समय देशभरका प्रायः होटलमा नोभेम्बरसम्मका लागि गरिएका अग्रिम बुकिङ रद्द भइसेकका छन्। विदेशी पर्यटकलाई सेवा दिँदै आएका प्रायः पाँच तारे तथा विदेशी चेन होटलहरुले भने आउँदो सेप्टेम्बरदेखि बुकिङ खुला गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया