त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता

विदुर खबर २०८३ असोज २९ गते २०:३३

नुवाकोट । नुवाकोट, रसुवा र धादिङका बासिन्दालाई लक्षित गर्दै त्रिशूली अस्पतालमा एमआरआई (MRI) मेसिन उपलब्ध गराउनेसम्बन्धी एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Advertisement

इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (IFRC) नेपाल प्रतिनिधिमण्डल, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको संयुक्त पहलकदमी तथा सहकार्यमा उक्त सम्झौता सम्पन्न भएको हो।

यस क्षेत्रकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको त्रिशूली अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुँदा यसअघि बिरामीहरू जटिल रोगको निदान तथा परीक्षणका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता थियो। सम्झौताअनुसार एमआरआई मेसिन जडान भई सेवा सञ्चालनमा आएपछि नुवाकोटका साथै छिमेकी जिल्ला रसुवा र धादिङका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूले स्थानीयस्तरमै सुलभ र गुणस्तरीय उपचार सेवा पाउनेछन्।

Advertisement

सम्झौता पश्चात् स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले IFRC, नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाको पहलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। रेडक्रस र नगरपालिकाको यो अतुलनीय सहयोगले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउनुका साथै विपन्न तथा पहुँचविहीन नागरिकहरूप्रति ठूलो राहत पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया