अबदेखि कक्षा ११ को परीक्षा जेठको तेस्रो साता हुने

विदुर खबर २०७७ साउन ८ गते १८:२७

नुवाकोट । कक्षा ११ मा परीक्षाको नाम माध्यमिक शिक्षा उतिर्ण परीक्षा(एसएससीई ) रहेको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सो विषय उल्लेख गरेको छ । विद्यालयबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कार्यविधिमा केही अधिकार बोर्डमा निहीत गरिएको छ । बोर्डले परीक्षाको बारेमा चित्त नबुझेमा अनुसन्धान र अनुगमन गर्ने अधिकार राखेको छ ।

विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तिमा ७० (सत्तरी) प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख छ । अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ । कार्यविधिको परिच्छेद ४ मा विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा व्यवस्थापन, सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा विद्यालय/क्याम्पसको प्रधानाध्यापक/प्राचार्य अध्यक्ष रहने व्यवस्था छ ।

Advertisement

सदस्यहरुमा सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापक/प्राचार्यबाट मनोनित शिक्षक सदस्य रहने व्यवस्था छ । समितिले प्रश्नपत्र निर्माण परीक्षण र नतिजा प्रकाशन गर्नेछ । कार्यविधिमा विद्यार्थीले प्राप्त गरेको नतिजालाई गणना गरी विद्यार्थीको समग्र मूल्याङ्कन गर्नुपर्नेछ । विद्यालयले लिएको पहिलो, दोस्रो र तेस्रो परीक्षाको आधारमा मुल्याङकन गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगात्मक परीक्षाको हकमा फरक विद्यालयका शिक्षकले परीक्षा लिनुपर्ने व्यवस्था गरेको छ । कार्यविधि लागु भएपछि सबै विद्यालयले आफ्नो अनुकुलताको आधारमा परीक्षा लिने बाटो खुला भएकोछ–बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भन्नुभयो । उहाका अनुसार कार्यविधि तयार भएपछि सोही अनुसारको तयारी गर्न विद्यालयलाई सहज भएको छ ।

बोर्डले कक्षा ११ मा छनौट गरेका विषयहरूको रजिष्ट्रेशन विवरण अद्यावधिक गर्ने, वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने र गराउने , विद्यालयद्वारा निर्माण गरिएका प्रश्नपत्रहरू पाठ्यक्रमले तोकेको संरचना तथा विशिष्टीकरण तालिका अनुसार गर्न/गराउन निर्देशन दिने अधिकार उल्लेख छ । कक्षा ११ को परीक्षामा सबै विद्यार्थीले डि प्लस ल्याउने लगभग पक्का भएको छ ।

Advertisement

प्रतिक्रिया