भारतमा एकैदिन ४० हजारमा कोभिड १९ पहिचान,नेपालमा त्रास बढ्यो

विदुर खबर २०७७ साउन ५ गते ११:०६

नयाँ दिल्ली। भारतमा आइतबार एकै दिन ४० हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन्।

Advertisement

गएका सातामा मात्र भारतमा २ लाख ३८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। एक सातामा भारतकै कूल संक्रमितमध्ये २१ प्रतिशतको पहिचान भएको हो। आइतबार थप ६ सय ७३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै एक सातामा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ८५ पुगेको छ। यो कूल मृत्युको १६ प्रतिशत हो। यससँगै भारतमा कोभिड १९ संक्रमितको संख्याले ११ लाखको सीमा पार गरेको छ।

१० लाखको सीमा पार गरेको तीन दिन नबित्दै ११ लाख पुगेको हो। आइतबारमात्र ४० हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका हुन्। यसअघि सबैभन्दा धेरै संक्रमितको रेकर्ड ३८ हजार १ सय ४१ थियो। आइतबार भारतका १० राज्यमा संक्रमितको संख्या ह्वात्तै बढ्यो। तामिलनाडूमा ४ हजार ९ सय ७९ नयाँ संक्रमित थपिए भने बंगालमा २ हजार २ सय ७८ जना। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश २ हजार २ सय ५० नयाँ संक्रमित थपिए। पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा २ सय ३९ नयाँ संक्रमित थपिए।

Advertisement

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्ड दुवैतिर संक्रमितको संख्या बढिरहँदा नेपालमा पनि जोखिम कायमै रहने गर्छ। नेपालसँग लामो सीमा जोडिएको उत्तर प्रदेश मध्यदेखि पश्चिम नेपालसम्म जोडिएको भारतीय प्रान्त हो। नेपालबाट भारतमा काम गर्न जाने अथवा भारतबाट नेपालमा काम गर्न आउने ठूलो हिस्सा यही प्रान्तबाट आउजाउ गर्छन्। यसकारण उत्तर प्रदेशको संक्रमण नेपालका लागि सधैं जोखिमपूर्ण हुने गर्छ।

प्रतिक्रिया