भाेलीदेखि काठमाडौंमा साझा बस चढ्न पाइने

नुवाकोट । बिहीबार बिहान ७ः३० बजेदेखि बेलुकाको ७ बजेसम्म साझा बस चढ्न पाइने भएको छ ।
काठमाडौं उपत्यकाभित्र पहिले चलिरहेकै रुटमा साझा बस पुनः चल्ने भएको हो । साझा बस लगनखेलदेखि बसपार्क, रत्नपार्क, बुढालिनकण्ठ, बुङमती, थानकोट, कमलविलायक, लगनखेल, एयरपोर्ट, दक्षिणकाली, लामाटार, भक्तपुर सुर्यबिनायकलगायतका रुटमा चल्नेछन् ।
‘नेपाल सरकारबाट अनुमति पाएका उपत्यकाका रुटमा नै बस सञ्चालन गर्दैछौँ । हामीसँग भएकामध्ये २० देखि २५ प्रतिशत गाडी मात्र चलाउन लागेका हौँ’, साझा यातायातका प्रबन्धक महेन्द्र राज पाण्डेले बताए । हाललाई यति मात्र सञ्चालन गरेतापनि आवश्यक्ता अनुसार बढाउँदै लैजाने पनि पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडा दर ५० प्रतिशत थप गर्ने भने अनुसार नै साझा बस चलाइने भएको हो । त्यस्तै सरकारले तोकेको सुरक्षाको मापदण्ड बमोजिम नै बस सञ्चालन हुने पनि उनले जानकारी दिए । बसका कर्मचारीदेखि यात्रुहरूले पनि स्यानिटाईजर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैगरी चालक र सहचालकले पन्जा लगाउनुपर्ने हुन्छ । बस चढ्दादेखि ओर्लदासम्म व्यक्तिगत दुरी कायम राखेर यात्रा गर्न साझाले अनुरोध गरेको छ। ‘यात्रुहरुलाई खुद्रा पैसा बोकेर आउन हामी अनुरोध गर्दछौँ’, पाण्डेले भने, ‘यात्रु तथा कर्मचारी सबैको सुरक्षाकालागि यी नियमहरु पालना गर्न हामी अनुरोध गर्दछौँ ।’
अहिलेको समयमा नाफा नोक्सान भन्दा पनि सेवामा केन्द्रित भएको साझाको भनाइ छ । ‘खर्च धान्ने नधान्ने भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर भोलीदेखि सेवा पुनः शुभारम्भ गर्न लागेका हौँ ‘, पाण्डेले भने ।
प्रतिक्रिया